ओली र प्रचण्डबाहेक नेकपामा सबै प्रभावशाली नेता ‘कठपुतली’

  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौं, २२ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबाहेक अन्य सबै नेता ‘कठपुतली’ सावित भएका छन् ।

नेकपाको ४५ सदस्यीय स्थायी कमिटी र चार सय संख्याको केन्द्रीय समति पनि छ । ती सबैलाई चलाउने नौ सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन भएको छ ।

गत जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । दुवै पार्टीको केन्द्रीय कार्यसमिति भंग गरेर अध्यक्षमा ओली र प्रचण्ड दुईजना रहेका छन् । तत्कालीन एमालेको निर्वाचित कार्यसमिति भंग गरेर उपाध्यक्ष र महासचिव नै हटाइयो ।

माओवादी केन्द्रमा निर्वाचनबाट नआएकाले त्यति असन्तुष्टि देखिएको छैन । तर, एमालेमा भने सबै निर्वाचनका माध्यमबाटै पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने अधिकांश नेता अहिले पेण्डुलम बनेका छन् ।

कतिसम्म भने महासचिव विष्णु पौडेल नाम मात्रका ‘महासचिव’ भएका छन् । पार्टीको एकता प्रक्रिया टुंग्याउन पौडेल र रामबहादुर थापा बादलको संयोकत्वमा कार्यदल गठन भएको थियो । सोमबार बसेको सचिवालय बैठकले सो कार्यदलको सबै अधिकार खोसेर अध्यक्षमा केन्द्रित गरेको छ । अब ओली र प्रचण्डले जे निर्णय गर्छन् त्यही मान्नुपर्ने हुन्छ ।

आन्तरिक विवादमा जेलिएको नेकपाको एकता प्रक्रिया टुंग्याउन गठित कार्यदल सचिवालयको निर्देशनपछि थप अन्योलमा परेको छ । सचिवालयले अहिलेसम्म भएका प्रगति समेटेर प्रतिवेदन बुझाउन निर्देशन दिएपछि कार्यदल अब कसरी अघि बढ्ने भन्नेमा अन्योलमा परेको हो ।

स्थायी समितिको गत पुस १३ गतेको बैठकले पार्टी एकताका बाँकी काम किनारा लगाउने तथा जिम्मेवारी बाँडफाँटको कार्यविधि बनाउने जिम्मेवारीसहित नौ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदल गठन भएपछि पनि नेताहरुको कार्यव्यस्तता र जिल्ला दौडाहाको बहानामा बैठक निरन्तर बस्न सकेको थिएन ।

गत माघ ६ गतेयता कार्यदलको बैठक बसेको छैन । सचिवालयले प्रतिवेदन बुझाउन निर्देश गरे पनि अब के गर्ने भन्ने कुनै तयारी नरहेको ती सदस्यले बताए । कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसमा भएको प्रगतिका आधारमा स्थायी समितिले एकता टुंगो लगाउने नेकपाले जनाएको छ । आकांक्षी बढी भएको, विभिन्न कमिटीले सिफारिस गरेका नाममा नै सर्वसम्मत नदेखिएको, जिम्मेवारी बाँडफाँटको मापदण्ड माथि नै कार्यदल सदस्यबीच विवाद छ ।

तल्लो तहसम्मका कमिटिमा आफ्नो पकड स्थापित गर्न शीर्ष तहका नेता नै लागिपरेपछि कार्यदलले काम गर्न नसकेको नेताहरुको भनाइ छ । माघमा एकताको काम सकेर फागुन र चैतमा संगठन विस्तारमा जाने तयारी भए पनि एकता प्रक्रिया लम्बिँदा पूर्वनिर्धारित कार्यसूचीअुनसारको काम प्रभावित भएको नेकपाले जनाएको छ ।

नेकपामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भीम रावल जस्ता प्रभावशाली नेताहरू अहिले ओली र प्रचण्डले जे निर्णय गर्छन्, जे आदेश दिन्छन् त्यसको पालना गर्नुपर्ने हैसियतमा मात्र देखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

70 ÷ 14 =