प्रतिनिधिसभा बैठकमा आज मन्त्री र सांसदबीच प्रश्नोत्तर, हत्या र बलात्कारबारे मन्त्रीसँग जवाफ माग

  •  
  •  
  •  

काठमाडौं, २३ माघ । प्रतिनिधिसभा बैठकमा आज मन्त्री र सांसदबीच प्रश्नोत्तर हुँदै छ । दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा पाँच मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिनेछन् ।

सांसदहरूले दर्ता गराएका मौखिक प्रश्नको मन्त्रीहरूले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा पालैपालो जवाफ दिने भएका हुन् ।

संसद सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले जवाफ दिनेछन् ।

सचिवालयमा मन्त्रीलाई सोध्न सांसदहरूले ८८ वटा मौखिक प्रश्न दर्ता गराएका छन् । लिखित प्रश्न पनि १२ वटा पुगेको छ । गृहमन्त्री थापासँग कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पत्ता लाग्न नसकेको विषयमा प्रश्न दर्ता गराउनु भएको छ ।

कांग्रेसकै देवेन्द्रराज कँडेलले भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको र लगत्तै प्रहरीको इकाउन्टरमा दोषी मारिएको विषयमा गृहमन्त्री थापाको जवाफ माग गरेका छन् ।

नेकपाकी सांसद सरिता न्यौपानेले पैतृक सम्पत्ति सम्बन्धित विषयमा माहिला बालबालिका मन्त्रीसँग जवाफ माग गरेकी छन् ।

सांसदहरू दिलेन्द्रप्रसाद बडू, मिनेन्द्र रिजाल, अहतरकमाल मुसलमान, रंगमति शाही, राबहादुर बिष्ट, प्रकाश स्नेही, प्रेम सुवाललगायतले प्रश्न दर्ता गराएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार एक दिनको प्रश्नोत्तरमा बढीमा २० वटासम्म मौखिक प्रश्न सोध्न सकिन्छ भने एउटा सांसदले बढीमा दुईवटा मात्र प्रश्न गर्न पाउँछन् ।

यसअघि माघ ३ गते प्रधानमन्त्री केपी ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिएका थिए । तर, त्यसपछि प्रधानमन्त्रीले संसद् छल्दै आएका छन् । महिनामा दुईचोटि प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

67 − = 66