भ्याट छलेर देशलाई ठगी : सामसुङ मोबाइलको आधिकारिक बिक्रेता मल्होत्राको यस्तो कर्तुत !

  • 19
  •  
  •  
    19
    Shares
काठमाडौं  । विवादस्पद व्यापारी दीपक मल्होत्राले भ्याट फिर्ताका लागि ठूला करदाता कार्यालयमा प्रस्तुत गरेका विवरण शंकास्पद रहेको खुलेको छ । उनले पेस गरेका प्रमाण र संख्या नै सरकारको आधिकारिक तथ्यांक राख्ने निकायभन्दा बढी भेटिएको छ । 
मल्होत्राले कम मोबाइल पठाएर धेरैको भुक्तानी मागेपछि यो रहस्य बाहिर निस्किएको हो । नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता कम्पनी इन्टिग्रेटेड मोबाइल सोलुसन (आइएमएस वल्र्ड) प्रालिका संचालक रहेका उनले दुबई मोबाइल निर्यात गरेको भनि विवरण ठुला करदाता कार्यालयमा पेस गरेका थिए । मल्होत्राले आर्थिक वर्ष २०७४÷७५ को असोजदेखि जेठ मसान्तसम्म १ लाख ४७ हजार ३१५ वटा सामसुङ मोवाइल निर्यात गरेको उल्लेख गरेका छन् ।
शतप्रतिशत भ्याट छुट सेवा पाउन पठाएको मोबाइलको संख्याभन्दा दोब्बर बराबरको रकम माग, भन्सारको तथ्यांकमै नभएको संख्या उल्लेख गरेपछि खुल्यो भेद
आन्तरिक राजश्व विभागमा पेस गरेको सो विवरण र भन्सार कार्यालयको विवरण भने निक्कै फरक रहेको छ । विभागको तथ्यांकमा उक्त परिणामको मोबाइल निर्यात भएको देखिदैन । जसका कारण उनले ठग्नका लागि सो विवरण बुझाएको प्रस्टै हुने विभागको उच्च स्रोतले जानकारी दिएको छ । भन्सारबाट सो समयमा ७४ हजार ८८८ मोवाइल मात्र निर्यात भएको देखिएको छ ।
झुटो विवरण पेश गरी शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन निरन्तर ठूला करदाता कार्यालय धाउन थालेपछि शंका लागि छानविन गर्दा सो तथ्य फेला परेको हो । मल्होत्राले १२ वटा निकासी प्रमाणपत्र लिँर्दै निर्यात गरेको दाबी गरेको मोबाइलको संख्या भन्सार विभागको निर्याततर्फको तथ्यांकभन्दा ७२ हजार ४ सय २७ सेट बढी देखिन्छ । योसँगै मल्होत्राको आइएमएस वल्र्डले मोबाइल आयात गरी निर्यात गरिएको भनी आन्तरिक राजस्व विभाग र सर्वोच्चमा पेस गरेको विवरण नै झुटो हुन सक्ने आशंका ठूला करदाता कार्यालयको छ ।
मल्होत्रा पैसा फिर्ता माग्दै ठूलाकारदाता कार्यालय पुगेका थिए । तर कार्यालयले यो विषय अदालतमै रहेको भन्दै आन्तरिम आदेशबारे राजश्व विभागमा रायका लागि पत्र लेखेको छ । उक्त मुद्दाको पेशी फागुनमा तोकिएको छ । यसअघि सर्वोच्चले ठूला करदाता कार्यालयले दर्ता गरेको भ्याकेटको निवेदन खारेज गरिसकेको छ । मल्होत्राले आन्तरिक राजश्व विभागमा आइएमएस वल्र्डमार्फत आयात गरी भन्सार ऐन २०६४ को दफा २ (घ) (छ) (ज), दफा १८ र २५ बमोजिम त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट मोबाइल निर्यात गरेको भनी आन्तरिक राजश्व विभागमा पेस गरेको विवरण नै झुटो पुष्टि हुने देखिन्छ ।
सरकारी निकायको तथ्यांक र मल्होत्राले निर्यात गरेको भनी आन्तरिक राजश्व विभाग र सर्वोच्च अदालतमा पेस गरेको मोबाइल सेटको संख्यामा झन्डै शतप्रतिशत फरक देखिएको छ । यो सँगै मल्होत्राले निर्यात गरेको भनिएका ७२ हजार ४२७ मोबाइल सेट खोइ? भन्ने प्रश्न खडा भएको छ ।
तर, यो सबै प्रपञ्च व्यापारी दीपक मल्होत्राले शतप्रतिशत भ्याट फिर्ताका लागि गरेको हुन सक्ने आन्तरिक राजश्व विभागले ठहरसमेत गरिसकेको छ । मल्होत्राले आन्तरिक राजश्व विभागमा पेस गरेको निर्यात प्रमाण पत्रमा समेत प्रश्न खडा हुने भन्सार विभाग स्रोत बताउँछ । भन्सार विभागको तथ्यांकमा नेपालबाट निर्यात भएका सबै मोबाइल संयुक्त अरब इमिरेटस् (दुबई) गएको देखिन्छ । मल्होत्राको कम्पनीले पनि मोबाइल दुबई नै निर्यात गरेको दाबी गरेको छ । तर, निर्यात भएका मोबाइल संख्या बढी देखाउनुको एउटा मात्रै उद्देश्य शतप्रतिशत भ्याट फिर्ता लिनु हो ।
मल्होत्राले आर्थिक वर्ष ०७२-७३ र ०७३-७४ मा सोही अवैध प्रक्रियाबाट शतप्रतिशत भ्याट फिर्ता लिएको भेटिएको छ । जसमा उनले आप्mनै कम्पनीमा काम गर्ने कर्मचारीको नाममा अर्को कम्पनी खोलेर विदेशबाट सामान ल्याएर पुनः विदेशमा बेच्ने गरेको जनाएका थिए ।
भियतनाम, चीन लगायतका विभिन्न देशमा बनेका सामसुङ मोबाइल सेट सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रालिबाट खरिद गरेको देखाउँदै मल्होत्राले ती सेटहरू दुबईको कृष्ण इन्टरनेसनललाई बिक्री गरेको देखाएका थिए । कृष्ण इन्टरनेसनलले सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रालिबाट मोबाइल खरिद नगरी नेपालमा रहेको मल्होत्राको अर्को बिचौलिया कम्पनी हिमालयन इलेक्ट्रोनिक्सबाट खरिद गरेको पाएपछि कार्यालयले गरेको अनुसन्धानबाट ठगी गरेको खुलेको थियो ।
यो समाचार आजको <strong>सौर्य दैनिक</strong>मा प्रकाशित छ।</p>

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × = 4