भारतीय कामदारले श्रम स्वीकृति लिनुपर्ने प्रावधान, राजदूत पुरीले भेटे प्रधानमन्त्री, महानिर्देशक गुप्तालाई सोधियो स्पष्टीकरण

  •  
  •  
  •  

काठमाडौं, २४ माघ । केही अन्तर्राष्ट्रिय घटना र केही स्वदेशमै सिर्जित घटनाका कारण प्रधानमन्त्री केपी ओली यतिबेला निकै तनावमा छन् । भेनेजुयला प्रकरणमा प्रचण्डले निकालेको विज्ञप्तिले कूटनीतिक सञ्चालनमै असर पुगिरहेका बेला ओलीलाई भारतीय कामदारले श्रम स्वीकृति लिनुपर्ने प्रावधानले थप चिन्तामा पारेको छ ।

भारतीय श्रमिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने नेपालको निर्णयलाई लिएर भारत सरकारले कुनै औपचारिक प्रतिक्रिया नजनाए पनि भारतीय मिडियामा यसको व्यापक विरोध भएको छ । यही सन्दर्भलाई लिएर बिहीबार बिहान भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् ।

राजदूत पुरीले बालुवाटार पुगेरै प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटबारे औपचारिक जानकारी नआए पनि राजदूत पुरीले भारतीय श्रमिकले श्रम स्वीकृति लिनुपर्ने नेपालको निर्णयबारे चासो राखेको स्रोतले बतायो । नेपालको सो निर्णय सन् १९५० को सन्धि विपरीत भएको बताइन्छ ।

यसैबीच, भारतीय श्रमिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने भनी विभिन्न श्रम कार्यालयलाई चिठ्ठी लेख्ने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रमुखलाई मन्त्रालयले स्पष्टीकरण सोधेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागका निमित्त महानिर्देशक उदय गुप्तालाई यस बारेमा स्पष्टीकरण सोधेको हो । विषयको गम्भीरता नबुझी चिठ्ठी लेखेको र आफूबाट गल्ती भएको भन्दै गुप्ताले लिखित स्पष्टीकरण बुझाएको मन्त्रालयले जनाएको छ ।

गत माघ १० गते भारतीय श्रमिकहरुले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने सूूचना विभागले जारी गरेको थियो । तर, यसबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कुनै जानकारी गराइएको थिएन । सञ्चारमाध्यममार्फत मन्त्रालयले थाहा पाएपछि आपत्ति जनाउँदै यो विषयमा छानविन गर्ने जनाएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले यस सम्बन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरूलाई गरिएको भनिएको परिपत्र साँचो या झुट के हो, यदि साँचो हो भने क–कसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनको लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने भनी विज्ञप्ति जारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =