जाजरकोटको मह अन्तर्राष्ट्रिय बजारमा

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

जाजरकोट, २४ माघ । यहाँको नलगाड नगरपालिका–१ पाली, कल्पतको कात्तिके मह यसवर्ष अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । पाली, कल्पतको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया जाने भएको हो । 

नहकुली अर्गानिक हर्बल एग्रो प्रालिले पाली, कल्पतको कात्तिके महको अन्तर्राष्ट्रिय बजार खोजी गर्न यस वर्ष अस्टे«लिया, अमेरिका, दुवई र कोरिया गरी चार देशमा दुई हजार किलो मह पठाउन लागेको सञ्चालक हरिबहादुर बुढाले जानकारी दिनुभयो । 

अन्तर्राष्ट्रिय बजारमा पठाउन सुपर वल्र्ड ट्रेडर्सले महको नाप तौल तथा गुणस्तर परीक्षण गरिसकेको बुढाले जानकारी दिनुभयो । बाहिर पठाउनलाई प्रालिले मह खरीद गर्नाका साथै प्याकिङ गरिसकिएको बताउँदै सञ्चालक बुढाले वन डिभिजन कार्यालयबाट चलानी पुर्जीका लागि आवश्यक कागजजात पूरा गर्न मात्र बाँकी रहेको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादन १५ प्रतिशतले वृद्धि भएको नलगाड कृषि शाखा प्रमुख महेशकुमार बिष्टले जानकारी दिनुभयो । 

गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो । गत वर्षसम्म प्रतिकिलो रु पाँच सय पर्ने मह अहिले रु सात सय पुगेको छ । माग धेरै भएका कारण महको मूल्यमा पनि वृद्धि भएको छ । जैविक मह उत्पादन हुने मौरीको सबैभन्दा उत्तम आहारा चिउरी हो । मैनपुतलीले मौरीको लार्भा र चाका खाइदिँदा मौरी भाग्ने गरेको किसानको भनाइ छ । “महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ,” व्यावसायिक मौरी किसान सेते बुढाले भन्नुभयो । 

तीन दशकदेखि जाजरकोटका किसान व्यावसायिकरूपमा मौरीपालनमा आबद्ध छन् । उत्पादित मह किसानलाई बिक्री गर्न पनि बिस्तारै सहज हुँदै आएको छ । जैविक महको महत्व बुझाउँदै जाँदा अहिले यहाँको मह अन्तर्राष्ट्रिय बजारमा जान थालेको छ । प्रालिले यहाँको महलाई विदेशमा निर्यात गर्न थालेपछि आगामी वर्षमा अन्तर्राष्ट्रिय बजार विस्तार हुनेमा किसान ढुक्क देखिन थालेका छन् । नगरपालिकामा चार हजार र जिल्लाभर छ हजार मौरीका घार छन् । नगरपालिकाले मौरीपालक किसानलाई सहयोग गर्दै पकेट क्षेत्र घोषणा गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + = 13