दसैंमा राजधानीवासीलाई मेलम्चीको पानी खुवाउँछु भन्ने मन्त्री विना मगर कहाँ छिन् ? कमिसन लफडाले दुई वर्ष पर धकेलियो मेलम्ची

  • 130
  •  
  •  
  •  
  •  
    130
    Shares

काठमाडौं, २५ माघ । अन्ततः मेलम्चीको पानी खाने राजधानीवासीको आशा सपनामै परिणत भएको छ । खानेपानी तथा सरसफाइमन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरको कमिसन मोहका कारण मेलम्ची आयोजना दुई वर्षपछि धकेलिएको छ ।

काम गरिरहेको ठेकेदारलाई भुक्तानी रोकेर भगाउँदै आएको खानेपानी मन्त्रालयले मेलम्ची ठेक्का रद्द गरेको छ । खानेपानी सचिव गजेन्द्र ठाकुरको अध्यक्षतामा बिहीबार बसेको मेलम्ची खानेपानी विकास समिति बैठकले ठेक्का रद्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको यो निर्णयबाट ९७ प्रतिशत काम पूरा भएको मेलम्ची योजना कम्तीमा पनि दुई वर्ष पर धकेलिने छ । खानेपानी मन्त्री बिना मगरले मेलम्ची ठेकेदार सीमएसीसित ‘वार्ता गर्न’ उपकार्यकारी निर्देशक भोजविक्रम थापा र मन्त्रीका स्वकीय सचिव विजय भट्टराईसहित चारजनाको टोलीलाई थाइल्यान्ड पठाएकी थिइन् । थाइल्यान्डमा वार्ता गर्ने भनेर पठाए पनि उनीहरूले सिंगापुरमा गएर वार्ता गरेका थिए । सिंगापुरमा वार्ता जारी रहेका बेला ठेक्का रद्द गरिएको हो ।

बैठकपछि समितिले जारी गरेको विज्ञप्तिमा ‘ठेक्का तोडिएको परिस्थितिमा आयोजनाको बाँकी काम सम्पन्न गर्न समितिले नेपाल सरकारसमक्ष विकल्पसहितको प्रस्ताव तयार गर्ने र नेपाल सरकारले गर्ने निर्णय दृढतापूर्वक कार्यान्वयन गरी हालको परिस्थतिले सिर्जित ढिलाइसमेत परिपूर्ति गर्नेतर्फ अघि बढ्ने बेहोरा आमसमुदायमा जानकारी गराउँछौं’ उल्लेख छ ।

विज्ञप्तिमा त्यस्तो विकल्पबारे भने खुलाइएको छैन । खानेपानी मन्त्रालय स्रोतका अनुसार सचिव गजेन्द्र ठाकुर र मन्त्री मगर सुरुदेखि नै सीएमसीसित ठेक्का रद्द गर्न लागिपरेका थिए ।

नियमानुसार सीएमसीले पाउनैपर्ने भुक्तानी रोकेर उनीहरूले ठेक्का रद्द गरी नयाँ ठेक्का गर्न चलखेल गर्दै आएका थिए । मेलम्चीमा लिएको कमिसनकै कारण बिना मगर परिवारमा पनि आलोचित बनेकी थिइन् । स्वयं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि विनासँग असन्तुष्ट बनेका थिए । प्रधानमन्त्री केपी ओलीले बिनाले सचिव ठाकुरसँग मिलेर मेलम्ची आयोजना डुबाउँदैछिन् भन्ने पहिले नै थाहा पाएका थिए ।

मन्त्री मगर पटक–पटक मेलम्ची आयोजनास्थल पुगेर २०७५ को दशैंमा मेलम्चीको पानी राजधानीवासीले खान पाउने बताउँदै आएकी थिइन् । उनले प्रधानमन्त्री ओलीलाई पनि साइट भिजिट गराएकी थिइन् । तर, अब मेलम्ची सपनामै सीमित हुने हो कि भन्ने आशंका बढेको छ । स्रोतका अनुसार नेपाली सेनालाई मेलम्चीको बाँकी काम दिने भित्री तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 2