पर्वतका छ स्थानीय तह दमकल विहीन

  •  
  •  
  •  
  •  
  •  

पर्वत, २७ माघ (रासस) ः गर्मी मौसममा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको छ । 

जिल्लाका ६ स्थानीय तह दमकलविहीन छन् । कुश्मा नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल उपलब्ध हुन सकेको छैन । फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशीला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा दमकल छैनन् । 

आगामी वर्ष बजेट विनियोजन गरेर खरीद गर्ने तयारी रहेको फलेवासका प्रवक्ता टीकाराम गौडेलले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा पनि शहरीकरण र व्यापारिक केन्द्र बढ्दै गएका बेला दमकलको ठूलो आवश्यकता रहेको उहाँले बताउनुभयो । 

बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोकिने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले जानकारी दिनुभयो । जिल्लामा मोटरबाटोको सहजता भएसँगै दमकलको आवश्यकता महसुस भइरहेकोे उहाँको भनाइ छ । 

आवश्यकता भए पनि स्रोत साधनको अभावमा दमकल खरीद गर्न नसकिएको जलजलाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । अन्य स्थानीय तहमा आगलागी हुँदा कुश्माको दमकल गुहार्नुपर्ने अवस्था रहेको छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको कुश्माका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । 

सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति र दमकलको व्यवस्था गर्दा आइपर्ने घटनामा उद्धार र राहतका लागि सहज हुने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो । जिल्ला विपत् व्यवस्थापन समितिले अहिले रहेको एकमात्र दमकललाई सबै स्थानीय तहले आपसी समन्वयमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै प्रत्येक स्थानीय तहमा रु ३० लाख बराबरको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय समेत गरिएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + = 14