भेनेजुएला प्रकरणले अप्ठेरो बनाएपछि अमेरिकी राजदूत सुटुक्क प्रचण्ड निवासमा, सीता दाहाललाई अमेरिका लैजाने चाहना

  •  
  •  
  •  

काठमाडौं, २८ माघ । दुई सातादेखि नेपालका लागि अमेरिकी राजदूत -यान्डी डब्लु बेरी विशेष चर्चामा छन् । उनी चर्चामा आउनुको मुख्य कारण सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध विज्ञप्ति जारी गर्नु । सोही विज्ञप्तिका कारण राजदूत बेरीले प्रधानमन्त्री केपी ओलीले राखेको कूटनीतिक ब्रिफिङ बहिष्कार गरेका थिए ।

अमेरिका नेपाल सरकारसँग रिसाएको बुझेपछि प्रधानमन्त्री ओलीले पछि ठूलै पहल गरेर बालुवाटारमा राजदूत बेरीसँग भेट गरे । बेरीसँगको भेटमा ओलीले द्वन्द्वकालीन मुद्दाका अभियुक्तहरूलाई उम्कन नदिने प्रतिबद्धता जनाएको सुइँको पाएपछि प्रचण्ड प्रधानमन्त्रीसँग झनै क्रूद्ध बने ।

त्यसपछि उनले सरकारको व्यापक विरोध मात्र गरेनन्, अर्को माओवादी जन्मने चेतावनी पनि दिए । प्रधानमन्त्री ओलीकै आग्रहमा अमेरिकी राजदूत बेरी आइतबार प्रचण्ड निवास खुमलटार सुटुक्क पुगेको स्रोतले जनाएको छ ।

भेनेजुएला प्रकरणलाई थप नलम्ब्याउने निष्कर्षमा नेपाल सरकार र अमेरिकी दूतावास पुगेपछि बेरीले प्रचण्डलाई भेटेको बुझिएको छ । प्रचण्डले भेनेजुएला संकटबारे विज्ञप्ति जारी गरेको करिब दुई सातापछि अमेरिकी राजदूत बेरी उनलाई भेट्न खुमलटारस्थित निवास पुगेका हुन् ।

भेटमा प्रचण्डले आफूले अमेरिकासँगको कूटनीतिक सम्बन्धमा कुनै तनाव ल्याउन नखोजेको स्पष्ट पारेको स्रोतले बतायो । बेरीले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो दिएको नेकपाका नेता देवेन्द्र पौडेलले आइतबार दिउँसो रिपोर्टर्स क्लबको साक्षात्कारमा जानकारी गराए ।

यसअघि प्रचण्ड निवास खुमलटारमा स–सानादेखि ठूल्ठूला प्रतिनिधिमण्डलले भेट गरे पनि प्रचण्डको सचिवालयले तस्बिर सार्वजनिक गथ्र्यो । तर, आइतबार प्रचण्डको सचिवालयले राजदूत बेरीसँग भेटेको तस्बिर सार्वजनिक गरेन ।

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था निकै खराब भइसकेको छ । प्रचण्ड सीतालाई अमेरिकामा लगेर उपचार गराउन चाहन्थे । तर, भेनेजुएला विज्ञप्ति प्रकरणपछि सीतालाई उपचारका लागि अमेरिका लैजाने उनको योजना स्थगन भएको थियो । स्रोतका अनुसार प्रचण्डले चाँडै सीतालाई अमेरिकामा उपचार गराउने बताउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

70 ÷ = 10