भारतबाट नेपाल आउँदै गरेका दुईवटा रेलको डिब्बा गायब भएपछि हलचल, के थियो रेलका डिब्बामा ?

  • 807
  •  
  •  
  •  
  •  
    807
    Shares

काठमाडौं, माघ २८ । नेपालमा अहिले पहिले भारतबाट रेल आउने कि चीनको रेल आउने भन्ने खुबै चर्चा परिचर्चा हुने गरेको छ । नेपाल र भारतबीच लामो समयदेखि रेल सञ्चालन भइरहे पनि चीनबाट अहिलेसम्म त्यस्तो कुनै संकेत छैन ।

भारतको विभिन्न बन्दरगाहबाट नेपालले तेस्रो मुलुकबाट सामान आयात गरिरहेको छ । नेपालले भारतको विशाखापटनम र कोलकाता बन्दरगाहबाट पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाहमा रेलमार्फत सामान आयात गर्दै आएको छ । त्यसरी सामान रेलमा ल्याउँदा कहिले पूरै डिब्बा त कहिले दुई–चारवटामा सामान ल्याइने गरिन्छ ।

रेलबाट विभिन्न सामान चोरी भएका घटना नौला होइनन्, तर रेलको डिब्बा नै गायव भएको अनौठो घटना प्रकाशमा आएको छ । भारतको विशाखापट्टनमबाट नेपालको पर्सास्थित सुक्खा बन्दरगाह आउँदै गरेको रेलको दुईवटा डिब्बा बाटोमै गायब भएको पाइएको छ । उक्त रेलमा कृषि सामग्री कम्पनी लिमिटेडले मगाएको रासायनिक मल ल्याइँदै थियो ।

हराएका दुई डिब्बाको खोजी गर्न थालिएको ६ महिना बितिसक्दा पनि अझै पत्ता लाग्न नसकेको भारतीय रेलवे अधिकारीहरुको भनाइ छ । भारतीय अखबार दैनिक जागरणमा प्रकाशित समाचारअनुसार विशाखापट्टनमबाट पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह जाँदै गरेको मालवाहक रेलका ४२ डिब्बामा सामान लोड गरिएको थियो ।

किसान ट्रेडर्स, मोतीहारीले उक्त सामान ढुवानीको जिम्मा लिएको थियो । सोहीअनुसार उक्त कम्पनीले रेलको ४२ डिब्बा ‘बुक’ गरी सामान लोड गराएको थियो ।

६ सेप्टेम्बर, २०१८ मा विशाखापट्टनमबाट नेपालतर्फ प्रस्थान गरेको रेल ११ सेप्टेम्बर, २०१८ मा पर्सास्थित सुक्खा बन्दरगाह आइपुग्दा ४० डिब्बामात्र साथमा ल्याएको किसान ट्रेडर्सका प्रोपाइटर शिवपूजन गुप्ताले बताएका छन् ।

उनले भारतीय रेलवे अधिकारीलाई यसबारे उजुरी गर्दासमेत हालसम्म दुईवटा डिब्बाबारे कुनै जानकारी पाउन नसकेको बुझिएको छ । हराएका दुई डिब्बामध्ये एउटामा ११७० बोरा र अर्कोमा १२३० बोरा रासायनिक मल रहेको उनले बताए ।
– एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 6 = 1