प्रधानमन्त्री ओली, प्रचण्डदेखि गृहसचिव राईका आफन्त एसएसपी बढुवामा, प्रहरीमा असन्तुष्टि

  • 901
  •  
  •  
    901
    Shares

काठमाडौं, २८ माघ । केही समयअघि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले शक्तिकेन्द्र धाउने बढुवामा नपर्ने चेतावनी दिएका थिए । तर, उनले त्यस्तो भाषण गरेको डेढ साता नबित्दै शक्तिकेन्द्र धाउनेहरू फटाफट बढुवा भएका छन् । नहुनेहरू बढुवा सूचीमै अटाएनन् ।

नेपाल प्रहरीमा स्वच्छ र इमान्दार मानिएका नरेन्द्र उप्रेतीले त एसपीबाटै राजीनामासमेत दिए । नेपाल प्रहरीमा एसपी र एसएसपी बढुवामा राजनीतिक पहुँच र आर्थिक चलखेलका भरमा गरिएको छ । बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका प्रतिनिधि सहसचिव केदार शर्मालाई बिदा बस्न लगाई एसपी र एसएसपीहरूको सूची बनाएको स्रोतले जनाएको छ ।

आईजीपीको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयबाट सहसचिव केदार शर्मा सदस्य र सदस्य सचिवमा एआईजी ठूले राई छन् । गृहसचिव प्रेमकुमार राईले सहसचिव केदार शर्माको ठाउँमा सहसचिव इन्दु घिमिरेलाई बढुवा सिफरिस समितिमा पठाएर आफ्ना मान्छेहरूको सूची बनाएको स्रोतले जनाएको छ ।

सचिव राईले टेकप्रसाद राईलाई एसएसपी बढुवाको दोस्रो सूचीमा पारेका छन् । उनी प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र सचिव हुन् ।

महानगरीय अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले पदबाट राजीनामा दिएपछि बढुवा प्रकरण विवादमा तानिएको हो । गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो ।

सिफारिसको सूचीमा सिनियर रहेका एसपी उप्रेतीको नाम परेन । उप्रेतीभन्दा ६ महिना जुनियर र कार्यक्षमतामा कमजोर मानिएका एसपी दीपक थापा भने एसएसपीमा बढुवा हुन सफल भए । थापालाई पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाललाई जिताउन भूमिका खेलेकाले पुरस्कारस्वरुप एसएसपीमा बढुवा गरिएको चर्चा छ ।

थापाले २०७१ सालमा कार्यक्षमतामा कमजोर ठहरिएर बढुवामा नपरेपछि सामाजिक सञ्जाल फेसबुकमा सतीले सरापेको देश भन्दै पोस्ट गरेर बढुवा समितिलाई गालीगलौज गरेका थिए ।

पहिलो नम्बरमा सन्दीप भण्डारी छन् । उनी प्रधानमन्त्री ओलीका रुचाइएका अधिकृत हुन् । ओलीकै प्रेसरमा उनी एक नम्बरमा बढुवा भएका हुन् । तेस्रो नम्बरका उमेशराज जोशी आईजीपी खनाल निकट र चौथो नम्बरमा श्यामलाल ज्ञवालीलाई नेकपाकै नेताहरूको सिफारिस रहेको बुझिएको छ ।

निर्मला पन्त प्रकरणपछि समस्यामा रहेको कञ्चनपुर सम्हाल्न पुगेका एसपी कुबेर कठायत पनि सोही ब्याचका हुन् । बढुवामा उनलाई छुटाइयो । उनीसहित भरत बोहरा, सुदीप गिरी, केदार ढकाल, राजेन्द्र विष्ट, राजेश बाँस्तोला, जनक भट्टराई, दुर्गा सिंह, किरण राणा, कृष्ण महत, लालमणि आचार्य, विष्णु केसीलगायत बढुवामा छुटेका छन् । टेकप्रसाद तामाङ, भीम ढकाल र दीपक थापा एसपी उप्रेतीभन्दा जुनियर प्रहरी अधिकारी हुन् ।

२०४९ सालका नवराज भट्ट, उमाशंकर पन्जियार तथा २०५१ सालमा प्रवेश गरेका भरत बोहरा, रवीन्द्र केसीलगायत १७ जनालाई पछाडि पारेर २०५२ सालका थापालगायत भीम ढकाल, टेक तामाङ बढुवा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 5