सोलारीको पहिलो रोजाइमा पर्न छाडेपछि रियल छोड्ने तयारीमा मार्सेलो, युभेन्टस जालान ?

  •  
  •  
  •  

काठमाडौंः ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोको भविष्य रियल मड्रिडमा संकटमा परेको छ । उनी पछिल्लो समय लगातार प्रशिक्षक सान्टियागो सोलारीको पहिलो रोजाइमा पर्न सकेका छैनन् ।

मार्सेलोलाई एक साताअघि कोपा डेल रे फुटबलमा बार्सिलोनाविरुद्धको खेलमा सुरुआती टोलीमा राखिएको थियो । तर, पछिल्लोपटक ला लिगामा भएको मड्रिड डर्बीक्रममा भने उनलाई बेन्चमा राखियो । एट्लेटिको विरुद्धको खेलपछि स्पेनिस मिडियाले रियलमा मार्सेलोका भविष्यका बारेमा अनेकौं समचार सम्प्रेषण गरेका छन् र कतिपयले सोलारीले मार्सेलोलाई बेन्चमा राखेर युवा खेलाडीलाई बढी महत्त्व दिइनुलाई मार्सेलोको समभावित बिदाइसँग पनि जोडेर हेरिरहेका छन् । पहिलो रोजाइमा पर्न छोडेपछि उनले रियल छोड्ने हल्ला समेत चल्न थालेका छन् । केही समय अघि क्रिस्टियानो रोनाल्डोले मार्सेलोलाई युभेन्टसमा स्वागत गर्न तयार रहेको बताएका थिए ।

३० वर्षीय मार्सेलो यसअघिसम्म रियलको टोलीमा लेफ्ट ब्याक सम्हाल्ने सबैभन्दा भरपर्दा र प्रमुख हतियार थिए । तर, पछिल्लो समय उनको स्थान २२ वर्षीय युवा खेलाडी सर्जियो रेगुइलियोनले लिइरहेका छन् । सोलारी रियलको नेतृत्वमा आइकन उनले धेरैजसो खेलमा रेगुइलियोनलाई नै महत्त्व दिँदै आएका छन् ।

पछिल्लोपटक मड्रिड डर्बीमा एथ्लेटिको मड्रिडविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा सोलारीलाई पत्रकारले मार्सेलोको अवस्थाबारे प्रश्न गरेका थिए । त्यसक्रममा उनले मार्सेलो टोलीका लागि दोस्रो कप्तान रहेको बताउँदै उनी अझै पनि टोलीका लागि एक प्रमुख हिस्सा रहेको बताएका थिए ।

तर, अर्को दिन हुने एथ्लेटिकोविरुद्धको खेलमा मार्सेलो सोलारीको छनौटमा परेनन् । सिजनकै ठूलामध्येका एक खेलमा उनी सुरुआती टोलीमा नपरेपछि सोलारीको सो निर्णयले मार्सेलोलाई रियल छाड्न थप दबाब दिने कदमका रूपमा चर्चा गरिएको छ ।

यो सिजन ला लिगामा २३ खेल सकिँदा मार्सेलोले मात्रै १२ खेल खेलेका छन् । त्यसक्रममा उनले २ गोल गरेका छन् । कोपा डेल रे फुटबलमा उनले ४ खेल खेल्दै १ गोलका लागि असिस्ट गरेका छन् ।

युरोपियन च्याम्पियन्स लिगमा मार्सेलाले ४ खेल खेल्दै १ गोल गरेका छन् । समग्रमा मार्सेलोले यो सिजन सबैखाले प्रतियोगिता गरेर ३ गोल गरेर ३ गोल नै असिस्ट गरेका छन् । उनले कूल २३ खेल खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 × 1 =