कर्णाली प्रदेशमा काठमाडौंको किसानको ‘हाइटेक खेती’, २४ करोड ब्रह्मलुटमा नेकपा नेता जनार्दन शर्मा मुछिए

  • 123
  •  
  •  
    123
    Shares

काठमाडौं, २९ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता जनार्दन शर्माको जोडबलमा काठमाडौं काभे्रस्थलीका साधुरामसिंह बस्नेतलाई कर्णाली प्रदेश सरकारले ‘हाइटेक खेतीको नाममा’ २४ करोड अनुदान दिएको रहस्य खुलेको छ ।

बस्नेत तिनै हुन्, जसले दुई वर्ष अगाडि साविकको तरकारी विकास निर्देशनालयबाट आधुनिक प्रविधि (टनेल) खेती गर्छु भन्दै साढे ४७ लाख रुपैयाँ अनुदान लिएका थिए । अहिले उनी सो रकम तिर्नुपर्ला भन्दै निर्देशानलयका हाकिमहरू तर्केर हिँड्ने गरेका छन् । तर तिनैलाई कर्णाली प्रदेश सरकारले प्रान्तभरि ‘हाइटेक खेती’ गर्न भन्दै २४ करोड रुपैयाँको ठेक्का दिएको छ । उनले एक करोडको लागतमा ५६० वर्गमिटर क्षेत्रफल भएका २४ वटा ‘हाइटेक खेतीको नमुना’ बनाउने भन्दै ‘हाइटेक ठेक्का’ लिएका हुन् ।

कर्णालीको चिसो हावापानीमा ‘हाइटेक प्रविधि’ आवश्यक नपर्ने र ‘हाइटेक प्रविधि’ जडान गर्न एक करोड नलाग्ने बताइएको छ । तर, काठमाडौंमा ‘हाइटेक खेती गर्छु भन्दै’ साढे ४७ लाख अनुदान लिएर असफल भएका व्यक्तिले कर्णालीमा ‘हाइटेक खेती’ सफल पार्ने भन्दा पनि कृषि क्षेत्रमा लगानी गरे प्राप्त हुने अनुदानको रकम खान यस्तो प्रपञ्च गरिएको स्रोतले बताएको छ ।

काठमाडौंमा बस्ने व्यक्तिलाई किसानको नाममा कर्णाली प्रदेश सरकारले २४ करोडको ‘हाइटेक ठेक्का’ दिएको रहस्य खुलेपछि प्रदेश सांसदहरूले त्यसविरुद्ध कडा आवाज उठाउने तयारी गरेका छन् ।

देशभर कृषि कार्यक्रमका नाममा दिने ऋण र अनुदानमा करोडौं भ्रष्टाचार हुने र प्रतिफल शून्य हुने गरेको छ । ‘यो ‘हाइटेक खेती’ पनि कृषि ऋण नै हो जसलाई पनि अनुदानमा परिणत गरी भागबन्डामा सक्ने योजना हुनसक्छ,; कर्णाली प्रदेशका एक सांसदले भने ।

धेरैले बस्नेतको नियत नै पैसा संकलन गर्ने र काम नगर्ने रहेको बताउने गरेका छन् । यस्ता व्यक्तिलाई पूर्वऊर्जामन्त्रीसमेत भइसकेका जनार्दन शर्माले किन ठेक्का दिलाउन लागिपरे भन्ने आशंका गरेका छन् । कतै उनी ‘कृषि अनुदानको चास्नी’ मा डुब्ने त होइनन् ? भन्दै नेकपाका नेता कार्यकर्ता चिन्तित बनेका छन् । यसअघि ‘रुकुम उज्यालो’ को करोडौं अनुदानमा शर्मा मुछिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 − = 79