पत्नी सीता दाहालको उपचार गराउन अमेरिका जाने प्रचण्डको योजना, राजदूत ‘सकारात्मक’

  • 448
  •  
  •  
  •  
  •  
    448
    Shares

दक्षिण अमेरिकी देश भेनेजुएलाका विषयमा नेपाल र अमेरिकाबीच चर्किएको कूटनीतिक असमझदारी अन्त्य भएको र त्यो विषय अब थप नचर्किने पुष्पकमल दाहाल प्रचण्ड निकट नेताले बताएका छन्।

नेकपामा अध्यक्ष प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शनिवार प्रचण्ड निवास सातदोबाटोमा भेटवार्ता भएको थियो।

प्रचण्डको परिवारका एक सदस्य समेत रहेका नेता नारायण दाहालले एक घन्टा जति भएको उक्त भेट राजनीतिक वा कूटनीतिक विषयमा मात्र सीमित नभएको बताए।

उनले प्रचण्डको पारिवारिक पीडालाई कम गर्न समेत भेटले सघाएको आकलन गरेका छन्। दाहाल प्राय: प्रचण्ड परिवारसँग नजिकै रहन्छन्।

पीडामा मलमपट्टी

उनका अनुसार प्रचण्ड पत्नी सीता दाहाललाई स्मरण शक्ति क्षीण हुँदै जान्छ, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या देखिएको दाहालले बताए।

उनले भने, “भाउजू बिरामी हुनुहुन्छ र उहाँलाई अमेरिकामा राम्रो उपचार हुन्छ भनेर त्यहाँ लैजाने कुरा पहिलेदेखि नै भइरहेको थियो। तर कहिले जाने र कुन अस्पतालमा लैजाने भन्ने विषयको टुङ्गो लागिसकेको छैन।”

नेता दाहालका अनुसार भेटका क्रममा राजदूत बेरी प्रचण्डको अमेरिका भ्रमण योजनाप्रति पनि सकारात्मक थिए।

कतिपयले अमेरिकाको असन्तुष्टिका कारण प्रचण्डको भ्रमण अन्योलमा परेको ठानिएका बेला दाहालले उक्त कुरा बताएका हुन्।

दक्षिण अमेरिकाको बोलिभरियन गणतन्त्र भनिने भेनेजुएलाको आन्तरिक मामिलामा “बाह्य हस्तक्षेप” हुन नहुने भन्दै केही साताअघि नेकपाका अध्यक्ष प्रचण्डले एक वक्तव्य जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आउन थालेको खबर आएको थियो।

त्यो वक्तव्य सार्वजनिक भएपछि काठमाण्डूस्थित अमेरिकी राजदूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँग भेनेजुएलाबारे धारणा मागेको थियो। लगत्तै परराष्ट्रले पनि भेनेजुएलामा “बाह्य हस्तक्षेप हुन नहुने” नेपालको अडान दोहोर्‍यायो।Image captionप्रचण्ड पत्नी सीता दाहाललाई केही साताअघि उपचारपछि घर फर्किएकी थिइन्

त्यसपछि पनि नेकपाका अध्यक्ष प्रचण्डले भेनेजुएला वक्तव्य प्रकरणबारे सार्वजनिक कार्यक्रमहरूमा बोल्ने क्रम रोकेनन्। जसका कारण विवाद चर्किइ नै रह्यो।

‘उहाँ सन्तुष्ट हुनुभयो’

तर नेता नारायण दाहालका अनुसार पछिल्लो प्रचण्ड-बेरी भेटपछि अमेरिका र सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डबीच हुनसक्ने असमझदारी अब हल भएको छ।

नेकपाका केन्द्रीय सदस्य एवम् पार्टीका प्रदेश ३ का अध्यक्ष समेत रहेका नेता दाहालले बीबीसी नेपाली सेवासँग भने, “अध्यक्ष कमरेडको भनाइ अनुसार कुराकानी निकै सौहार्दपूर्ण र असाध्यै राम्रो भयो। भेनेजुएलाका विषयमा दुवै पक्षबीच रहेका सबै भ्रमहरूलाई चिर्ने काम भयो। उहाँ (राजदूत बेरी) एक ढङ्गको सन्तुष्ट हुनु भयो भन्ने कुरा अध्यक्षले गर्नुभयो।”

उनका अनुसार खुमलटारमा भएको भेटपछि दुवै पक्ष भेनेजुएलालाई लिएर नेपालभित्र चर्किएको तनावलाई व्यवस्थापन गर्न र आगामी दिनमा “दुई पक्षबीचको सम्बन्धलाई थप मजबुत बनाउन” सहमत भएका छन्।

बेरी र प्रचण्ड भेटबारे अमेरिकी राजदूतावासको प्रतिक्रिया आइसकेको छैन।

बेरीलाई भेटेलगत्तै प्रचण्ड बालुवाटारमा

भेनेजुएलाका विषयमा फरक-फरक वक्तव्य र अभिव्यक्ति आउने क्रम जारी रहँदा नेकपाका दुई अध्यक्षबीच सम्बन्ध चिसिन सक्ने र त्यसले पार्टी एकीकरण प्रक्रियालाई नै प्रभावित तुल्याउने सम्भावना समेत व्यक्त हुन थालिसकेका थिए।

तर बेरीलाई भेटेलगत्तै नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई भेट्न प्रम निवास बालुवाटार पुगेका थिए।

त्यहाँ प्रचण्ड र ओलीबीच दुई घन्टा जति कुराकानी भएको नेता नारायण दाहालले बताए।

त्यो भेटमा पनि दुई नेताबीच भेनेजुएला प्रकरणमा समेत कुराकानी भएको हुनसक्ने उनको बुझाइ छ। यद्यपि त्यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।बिबिसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 89 = 90