एसपीको मृत्यु हुनेगरी रहस्यमय हाइप्रोफाइल दुर्घटना ! बाँच्न सफल चालकको यस्तो शंकास्पद काम !

  • 963
  •  
  •  
  •  
  •  
    963
    Shares
काठमाण्डौ । २०७५ माघ १२ गते शनिबार साँझ पूर्व पश्चिम महेन्द्र राजमार्गको बारा जिल्ला अन्तर्गत पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिकै भएको हाइप्रोफाइल दुर्घटना रहस्यमय बनेको छ । दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो भने बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई, दुई जना सुरक्षाकर्मी र सवारी चालक जगतनारायण राउत कुर्मी घाइते भएका थिए ।
प्रमुख जिल्ला अधिकारी भट्टराईको काठमाण्डौंमा उपचार भइरहेको छ । सिडिओ भट्टराई अचेत रहेका छन् । सुरक्षाकर्मीहरू सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव र प्रहरी जवान शम्भु गुरुङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।जिपको अन्तिम सिटमा बसेकाले सुरक्षाकर्मीलाई सामान्य चोटपटक लागकाले अवस्था खतरामुक्त रहेको बताइएको छ । सडक किनारामा ढुङ्गा लोड गरेर रोकिराखेको ट्याक्टरको ट्रलीमा ना १ झ १६३३ नम्बरको स्कार्पियो ठोक्काएर हाम फालेका चालक जगतनारायण राउतकुर्मी भने सकुशल रहेका छन ।
चालक कर्मीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । दुर्घटना बारे सुरक्षा निकायले अनुसन्धान गरिरहेको श्रोत बताउछ ।
उच्च अधिकारीहरूको अनुसन्धानले दुर्घटना स्वभाविक हो वा जानीजानी गराइएको हो भन्ने विषयमा अनेकौ प्रश्न उब्जिएको बताइएको छ । दुर्घटनामा बाँच्न सफल भएका प्रमुख जिल्ला अधिकारीका सवारी चालक जनतनारायण राउत कुर्मीलाई मुख्यरुपमा शंकाको घेरामा राखेर अनुसन्धान थालिएपछि कुर्मीका बारेमा धेरै तथ्यहरू बाहिर आएका छन ।
कुर्मीको सम्पर्क सीमा क्षेत्रका तस्करदेखि भारत तथा नेपालका अपराधिक गिरोहसम्म रहेको चर्चा बारामा जिल्लामा चलेको छ ।  करीब २३ बर्षदेखि जिल्ला प्रशासन कार्यालय बाराको ड्राइभरका रुपमा कार्यरत कुर्मीको बारा जिल्लामा छायाँ सिडियोका रुपमा चर्चा हुँदै आएको थियो । जिल्ला सुरक्षा समितिको बैठकमा समेत उपस्थित रहने उनीमाथि सुरक्षासंग सम्बन्धित सूचनाहरू अपराधिक तथा भूमिगत समूहहरूलाई पुर्याउने गरेको आरोप लाग्दै आएको कलैयाका स्थानियवासी बताउछन ।
अपराधिक तथा तराईमा सक्रिय सशस्त्र भूमिगत गिरोहसंग मिलेर काम गरेको आरोप लाग्दै आएका ड्राइभर कुर्मीमाथि ठूलो रकम लिएर सयौको संख्यामा भारतीयहरूलाई नेपाली नागरिताको प्रमाणपत्र दिलाएको आरोप पनि लाग्ने गरेको छ । उनले बारा जिल्ला प्रशासनमा गरेको २३ बर्षको ड्राइभिङ सेवा अवधिमा विभिन्न सेटिङमार्फत करोडौं रुपैयाँ बराबरको अकूत सम्पत्ति जम्मा गरेको आरोप पनि लागेको छ ।
पछिल्लो समयमा कुर्मीका शंकास्पद गतिबिधिमाथि प्रमुख जिल्ला अधिकारीलगायत बाराका अन्य सुरक्षा निकायहरूले निगरानी बढाएकोले कुर्मी तनावमा रहने गरेको जिल्ला प्रशासनका कर्मचारीहरू बताउछन । श्रोतका अनुसार दुर्घटना हँुदा घटनास्थलमै मृत्यु भएका सशस्त्रका एसपी बलराम पोखरेलसंग ड्राइभर कुर्मीको विवाद भएको भन्ने खबर पनि आइरहेका छन ।
स्थानीयका अनुसार जिल्ला प्रशासन कार्यालयको ड्राइभरमा नियुक्त हुनु अघि कुर्मी बाराको विकट गाउँमा परिवारसंग बस्थे,  उनको परिवारलाई जीवनयापन गर्नै कठिन थियो । संयुक्तरुपमा बसिरहेको उनको परिवारमा मुस्किलले खान लाउन पुग्थ्यो । तर अहिले कुर्मीको करोडौको सम्पत्ति देख्दा कलैयावासी आश्चर्यचकित हुन्छन् ।
कुर्मीले उता अपराधिक र भूमिगत गिरोहसंग साँठगाँठ गरेर कमाएको हिस्सा सरकारका उच्च पदस्थ कर्मचारीहरूलाई पनि पुर्याउने गरेको अनुसन्धानले देखाएको अनुसन्धानमा संलग्न कर्मचारीको भनाई छ । विभिन्न समयमा बारा जिल्ला प्रशासनमा काम गरेका र हाल सरकारको उच्च पदमा पुगेका केही कर्मचारीले कुर्मीलाई संरक्षण गर्दै आएको विषयमा पनि अनुसन्धान हुन थालेको स्रोतले बतायो ।
त्यस्ता कर्मचारीको घर भान्छा चलाउन कुर्मीले कलैयाबाट नियमित उपहार पठाउने गरेको बताउदै एक जना अधिकारीले भने कुर्मी ड्राइभर मात्र होइन, मुद्दामा सेटिङ गर्नेदेखि लिएर हरेक कामका बिचौलिया हुन् ।   कुर्मीको पक्राउले संरक्षकहरूको आर्थिक स्रोत प्रभावित हुने भएकाले अहिले कुर्मीलाई छुटाउन करोडौं रकमको चलखेल भइरहेको स्रोतको दाबी छ ।
दुर्घटना रहस्यमय भएको भन्दै मृतक एसपी बलराम पोखरेलका दाजु शालिग्राम पोखरेलले कुर्मीविरुद्ध सवारी ज्यानमा कारबाहीका लागि किटानी जाहेरी समेत दिएका छन् । ड्राइभर कुर्मी प्रमुख जिल्ला अधिकारीभन्दा पनि शक्तिशालीरुपमा जिल्लामा सक्रिय हुने भएकाले अरु अस्थायी कुर्मी  प्रजिअ हुन भन्ने चर्चा हुँदै आएको छ ।
विगतमा बारामा प्रमुख जिल्ला अधिकारी बनेर गइसकेका बालकृष्ण पन्थी, माधवराज रेग्मी, शंकर कोइरालालगायतका अवकाशप्राप्त र बहालवाला उच्च अधिकारीहरूले कुर्मीलाई बचाउन स्थानीय प्रशासनलाई दवाव दिइरहेको स्रोतको दावी छ ।
कुर्मीको कलैया उपमहानगरपालिका १ मोतिवागमा बनेको तीन तले बंगला हेर्दा जो कोहीलाई पनि आश्चर्य हुन्छ । मुस्किलले मासिक २० हजार रुपैया कमाउने ड्राइभरले परिवारको पालनपोषण कसरी गर्छ होला, कति पैसा बचाउछ होला  ? करीब चारकरोडको बंगलाको आयश्रोत के हो भनेर मानिसहरू प्रश्न गरिरहेका छन ।
कुर्मीको कलैया, वीरगञ्ज , काठमाण्डौ लगायतका सहरमा पनि करोडौ रुपैया मूल्यको घरजग्गा भएको खुलेको छ । कुर्मीले काठमाडौंको अनामनगरमा नेपाल सरकारका अवकाशप्राप्त सचिव सीताराम खनालको घर नजिक करीब ५ करोड रुपैया बराबरको आलिशान घर बनाएको, बाराको ब्रम्हपुरी गाउँमा करीब पाँच करोड मूल्यको  पाँच विगाहा जग्गा रहेको अनुसन्धानबाट खुलेको छ ।
यो समाचार  साँघु साप्ताहिकमा प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

53 − = 43