राष्ट्रपति विद्यादेवी भण्डारी आज न्युयोर्क जाँदै

  • 29
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौँ, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति अमेरिका जान लागेकी हुन् ।

राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ अध्यक्ष ग्रेसेसले नारी राष्ट्राध्यक्ष–सरकार प्रमुखको स्वागत एवं सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन् । उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसंघको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नेछन् ।

राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केस्टी कालजुलेड तथा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्नेछिन् । राष्ट्रपति भण्डारीसँग आयरल्यान्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारी फागुन ३० गते न्यूयोर्कबाट काठमाडौँका लागि प्रस्थान गरेर चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम छ ।