ओली र प्रचण्डले सीके राउतलाई एकाएक ‘हिरो’ बनाएपछि राजेन्द्र महतो र उपेन्द्र यादवमा छटपटी

  • 196
  •  
  •  
  •  
  •  
    196
    Shares

काठमाडौं, २७ फागुन । राज्य विप्लवको अभियोगमा केन्द्रीय कारागारमा सजाय काट्दै आएका चन्द्रकान्त (सीके) राउतलाई सरकारले एकाएक रिहा गरेर तराई मधेस पठाएपछि नेपालमा नयाँ राजनीतिक कोर्ष सुरु भएको छ ।

स्वतन्त्र मधेसको माग राख्दै राउत लामो समयदेखि क्रियाशील रहँदै आएका थिए । उनले तराई मधेस नेपालको नभएको भन्दै अन्तर्राष्ट्रिस्तरमै लबिङ गर्दै आएका थिए । यस्ता व्यक्तिलाई प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मैदानमा उतारेपछि यसले मुलुकको राजनीति दुई ध्रुवमा विभाजन भएको छ । राउतलाई बाहिर निकालिएको मात्र छैन, उनलाई एकजना सई सुरक्षाका लागि खटाइएको छ ।

राउतसँग सहमति गरेलगत्तै ओली र प्रचण्ड शनिबार रौतहटको गरुडा पुगे । दुवैले मधेस केन्द्रित दल राजपा र संघीय समाजवादी फोरमलाई चुनौती दिए । एकपटक जितेर आउँदैमा धेरै फूर्ति नगर्न प्रधानमन्त्री ओलीले चेतावनी दिएपछि राजपा र संघीय समाजवादी फोरमले प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । तर, राउतलाई ‘हिरो’ बनाएकोमा राजेन्द्र महतो, उपेन्द्र यादवहरू खुसी छैनन् ।

राउत बाहिर आएसँगै मधेसमा आफ्नो राजनीतिक मैदान असुरक्षित भएको उनीहरूले ठानेका छन् । ओली सरकारमै हिस्सेदारी पाइरहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र ओली सरकारमा कुनै स्थान नपाएपछि बेचैन भएर फर्किएको राजपा नेपाल यसअघि नै प्रतिपस्पर्धात्मक राजनीतिमा सामेल थिए । यसमा थपिएका छन्, सीके राउत, जो संविधान र कानुनले नै बर्जित नारासहित गतिविधि गर्दा राज्यविरूद्धको अभियोग खेपेका थिए ।

यतिखेर राउतले ओली सरकारसँग हात मिलाएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा राउतसँग सहमति गरे लगत्तै प्रधानमन्त्री ओली, सरकारबाट समर्थन फिर्ता लिएको राजपामाथि आक्रामक देखिए भने राउतप्रति नरम । ओलीको यस प्रस्तुतिलाई कतिपयले तराई मधेसमा राजपाको विकल्पमा राउतको उदय चाहेको रुपमा विश्लेषण गरेका छन् ।

केन्द्रमा सत्ता र प्रतिपक्षतिर बाँडिएका फोरम र राजपा प्रदेश २ मा मिलेरै सत्ताभोग गरिरहेका छन् । यी शक्तिको प्रतिस्पर्धाकै बीच विगतमा उग्र नाराका कारण चर्चित बनेका राउत सुधारिएको एजेन्डासहित खुला मैदान प्रवेश गर्दा तराई राजनीतिले कुन रूप लिन्छ भन्ने लेखाजोखाकै क्रममा छ ।

गत निर्वाचनमा फोरम र राजपाले बहुमत सिट जिते पनि नेकपा र कांग्रेसले समेत तराईमा आफ्नो उपस्थितिलाइ प्रतिष्ठाका रुपमा लिँदै आएका छन् । फोरम, राजपा र राउत एक्लाएक्लै त्रिकोणीय रूपमा प्रतिस्पर्धा गर्छन् या नयाँ ध्रुवीकरणको रूप लिन्छ, त्यसले नै तराइमा को बलवान हुन्छ भन्ने कुरा निर्धारित हुनेछ ।

रूपमा जे देखिए पनि राजपा र संघीय समाजवादी फोरमले पनि बेलाबेला राउतकै जस्तो स्वतन्त्र मधेसको नारा दिँदै आएका छन् । यस्तो देख्दा देख्दै भोग्दाभोग्दै पनि प्रधानमन्त्री ओली र प्रचण्डले सीके राउतलाई किन एकाएक ‘मधेसको मसिहा’ बनाउन खोजेका हुन् भन्ने विषयले अहिले आमजनतामा संशय पैदा गरेको छ ।