दुई वर्षभित्रै सक्ने गरी चीनले दैलेख र पाल्पामा पेट्रोलियम खानीको उत्खनन गर्दै, यी स्थानमा छन् पर्याप्त पेट्रोलियम खानी

  • 7.5K
  •  
  •  
  •  
  •  
    7.5K
    Shares

काठमाडौं, २८ फागुन । चीनले आगामी वैशाख १८ गतेदेखि नेपालको दैलेख र पाल्पामा पेट्रोलियम खानीको उत्खनन सुरु गर्ने भएको छ । दुई वर्षभित्र सक्ने गरी सुरु गरिने उत्खननको प्रधानमन्त्री केपी ओलीले उदघटान गर्नेछन् ।

चीन र नेपाल दुवैले यो परियोजनालाई निकै महत्वका साथ लिएका छन् । पेट्रोलियम पदार्थको खानी दैलेखको भैरवी गाउँपालिका–१ शिरस्थान र दुल्लु नगरपालिका–१० को नाभीस्थानमा छन् ।

चीनले दुई अर्ब ४० करोड रुपैयाँ लगानीमा उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ । दुई वर्षअघि भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पेट्रोलियम खानीको उत्खनन गर्न चीनलाई जिम्मा दिने सहमति भएको थियो ।

सोहीअनुसार खानी तथा भूगर्भ विभागका महानिर्देशक डा.सोमनाथ सापकोटाको नेतृत्वमा चीन पुगेको टोलीले चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खनन सम्बन्धमा छलफल गरी काम सुरु गर्ने सम्झौता भएको हो । एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।

चिनियाँ कम्पनीले दैलेखमा ड्रिलिङ गर्ने र पाल्पाको पहाडी क्षेत्रमा बम पड्काएर अध्ययन गर्ने तथा तराई क्षेत्रमा भाइब्रेसनबाट पेट्रोलको मात्रा र कुन स्तरको भनी पत्ता लगाउने छ ।

उत्खनन सामग्री र विषेशज्ञसहितको चिनियाँ टोली वैशाख दोस्रो साता आउने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको सचिवालयले जनाएको छ । चिनियाँ टोलीले नेपालका दस स्थानमा पेट्रोलियम खानीको निकै सम्भावना रहेको र ती स्थानमा पर्याप्त पेट्रोलखानी रहेको उल्लेख गरेको छ ।