भद्रगोलका भँडुवा पात्र पाँडेको भुमिकालाई लिएर पाण्डेहरु आक्रोशित, लेखे मिडीया हबलाई पत्र

  • 2.6K
  •  
  •  
  •  
  •  
    2.6K
    Shares

काठमाण्डौ, नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला ‘भद्रगोल’का फटाहा र भँडुवा पात्र ‘पाँडे’को भुमिकालाई लिएर पाण्डेहरु आक्रोशित बनेका छन् । आफ्नो थरको अपमान भएको भन्दै पाँडे थर भएकाहरुको संगठन ‘नेपाल पाँडे समाज’ ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । उक्त पात्रको नाम र उसले देखाउने चरित्रले आफुहरुको मनमा ठेस पुगेका विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल पाँडे समाज’ ले पत्रमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित रुपमा प्रस्तुत गर्ने गरेको आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको एकीकरणदेखि हालसम्म विभिन्न स्थान र योग्यताबाट पुर्‍याएको उच्चस्तरको योगदानलाई चटक्कै भुलेर हाँस्य पात्रको रुपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । तसर्थ समाजमा असर पुर्‍याउने कथा र प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानाकर्षण गराउँछौं ।’

पाँडे समाजका महासचिव सागर पाण्डेले उक्त पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल टेलिभिजनलाई पनि उक्त विज्ञप्ति पठाइएको छ । खबरका अनुसार यस विषयलाई लिएर मिडिया हबको तर्फबाट जवाफ समेत आएको छ । मिडिया हबका प्रमुख सोम धितालले कुनैपनि थर विशेषलाई अपमान गर्ने भद्रगोलको मनसाय नभएको बताएका छन् । बरु उक्त चरित्र कार्फत समाजभित्रको एउटा गलत प्रवृत्तिलाई उजागर गर्न खोजेको उनको भनाइ छ ।
हेर्नुहोस् ‘नेपाल पाँडे समाज’को विज्ञप्ति