फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या, कहिले खुल्ने कहिले नखुल्ने गर्दा संसारभरका प्रयोगकर्ता प्रभावित

  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौं, ३० फागुन ।  बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको छ । विश्वका विभिन्न भागमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको र खुलेकामध्ये पनि राम्रोसँग काम नगरेको प्रयोगकर्ताहरुको गुनासो छ ।

फेसबुकले समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । फेसबुकले आफ्ना केही एप्लिकेसन प्रयोगमा समस्या भएको जनाउँदै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको प्रष्ट पारेको छ ।

केही प्रयोगकर्ताले फेसबुक नखुलेको गुनासो गरेका छन् भने केहीले न्यूज फिड खाली देखिएको र केहीले प्रोफाइलमा प्रवेश गर्न नसकेको गुनासो गरेका छन् । स्मार्टफोन एप्स र डेस्कटप ब्राउजरमा समेत यस प्रकारको समस्या देखिएको छ ।

फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको र केही समयमै समस्या समाधान हुने बताएको छ । नेपालमा पनि फेसबुक खोल्दा ‘इरर’को सन्देश आउच्छ र छिट्टै यो समस्या समाधान हुने उल्लेख गरिएको सन्देश पनि आउँछ ।

अमेरिका, बेलायत, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिकोलगायतका देशका प्रयोगकर्ताको फेसबुक खुले पनि उनीहरुले स्टाटस वा तस्बिर राख्न पाएका छैनन् भने केहीले खुल्दै नखुल्ने समस्या रहेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।