विप्लवको नेपाल बन्द, काठमाडौं उपत्यकामा न्यून सवारीसाधन चले, स्कुल खुलेनन्, मकवानपुरमा ट्रक जलाइयो

  • 3K
  •  
  •  
  •  
  •  
    3K
    Shares

काठमाडौं, ३० फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ । सरकारले दमन गरेको, संकटकालको जस्तै व्यवहार गरेको, पार्टीका नेता तथा कार्यकतालाई पक्राउ गरेको विरोधमा नेपाल बन्द गरेको सो पार्टीले जनाएको छ ।

सरकारले भने विप्लवको पार्टी नेकपालाई राजनीतिक दलको मान्यता नदिई समूह भनेको छ । सो समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ ।

केही समयदेखि बन्दका घटना रोकिँदै आएका थिए । उपत्यका बन्द, नेपाल बन्दलाई सर्वसाधारणले अवज्ञा गर्दै पनि आएका थिए । तर, बिहीबारको बन्दमा सर्वसाधारणमा अलि त्रासको वातावरण देखिएको छ । काठमाडौं उपत्यकामा न्यून मात्रामा सवारीसाधन चलेका छन् ।

स्कुल कलेज, उद्योग कलकारखाना बन्द गरिएको छ । स्कुल बन्दले अन्तिम परीक्षा दिने ५० लाख बढी विद्यार्थी प्रभावित भएका छन् ।
सरकारले सुरक्षा व्यवस्था निकै कडाइ गरेको छ । हतियार बोकेको व्यक्ति वा समूह देखिएमा सिधै गोली हान्ने अधिकारसमेत दिइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यसैबीच, नेपाल बन्दको अवज्ञा गरेको भन्दै बिहीबार बिहानै मकवानपुरको थाहा नगरपालिका–४ नयाँगाउँमा ट्रकमा आगजनी गरिएको छ । काठमाडौबाट हेटौंडातर्फ जाँदै गरेको ना५ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी आगजनी गरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी एक समूहले पेट्रोल खन्याएर अगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकमा रहेका चालकसहित तीनजनालाई ओरालेर आगो लगाएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रकमा क्षति भएको छ ।