सरकारलाई विप्लवको जवाफ, प्रतिबन्ध नयाँ होइन, प्रतिवाद गर्न तयार छौं, तर झुक्दैनौं

  • 208
  •  
  •  
  •  
  •  
    208
    Shares

काठमाडौं, ३० फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको विषयमा सो पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमाथिको प्रतिबन्ध लगाइएको विषय कुनै नौलो नभएको उल्लेख गरेका छन् ।

विप्लवले विज्ञप्ति निकाल्दै सरकारले आफ्नो पार्टीमाथि दमन गरेमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उनले आफूहरू अहिलेको सरकारसँग नझुक्ने भन्दै प्रतिवादका लागि पूर्ण रूपमा तयार भएको उल्लेख गरेका छन् ।

‘केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन गर्यो भने त्यसको मुखतोड जबाफ दिइनेछ,’ विप्लवले वक्तव्यमा भनेका छन्, ‘यही फागुन २८ गते साँझ केपीको मन्त्रिपरिषद्को बैठकबाट हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध लगाउने, राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक, षड्यन्त्रकारी तर हास्यास्पद निर्णय गरेको प्रचार सञ्चारमाध्यममा आएको छ । केपी—बादल कम्पनीको यस कुकर्मप्रति जनताको चासो हुनु स्वाभाविक छ ।’

उनले २०७२ सालमा संविधान अस्वीकार गरेदेखि नै आफ्नो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको दाबी गरेका छन् । संसदीय चुनावहरूको बहिष्कार गरेपछि गोली हान्ने र हत्या गर्नेसम्ममा राज्य उत्रिएको उनको आरोप छ ।
विप्लवले आफ्ना सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेर बन्दी बनाइएको, झूट्टा मुद्दा व्यापक लगाइएको, रोल्पा, कपिलवस्तुलगायत जिल्लामा प्रहरी अप्रेसन चलाइएको दाबी गरेका छन् ।

उनले वक्तव्यमा अगाडि भनेका छन्, ‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ । झापा विद्रोह र दस वर्षको महान् जनयुद्धका हजारौँ सहिद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका वैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ ।’

‘जहाँसम्म अरुण ३, एनसेल, मेनपावर सप्लाई कम्पनीमाथिको कारबाही हुन्, ती हामीले गरेको हो र त्यसलाई राज्यले अपराधी भन्छ भने जनताले यो बुझ्नुपर्दछ– अरुण ३ जस्तो राष्ट्रघाती सम्झौता गरेर अर्बौं कमिबन खाने अपराधी केपी—बादल कम्पनी रहेछ, हाम्रा हजारौँ दिदीबहिनीहरूलाई विदेशी बजारमा आलु बेचेजसरी बेचेर हुर्मत लिने अपराधी यिनीहरू नै रहेछन्, खुलेआम अर्बौं रुपैयाँ ठगी गर्ने गिरोहमा यिनीहरू नै रहेछन् । यसो हो भने अबको कारबाही एनसेल, मेनपावर र अरुण ३ माथि होइन, यी अपराधीमाथि हुनुपर्छ, यी कारबाहीलाई केपीले लगातार चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल मात्र हो,’ विप्लवले भनेका छन् ।