सीके राउतसँग सरकारले गरेको सम्झौतामा विप्लवको आपत्ति, भन्छन्, नेपाली जनताको चाहनासँग सम्बन्धित छैन

  • 55
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाडौं, ३० फागुन । सरकार र सीके राउतबीच भएको ११ बँुदे सम्झौताप्रति नेत्रविक्रम चन्द विप्लवले आपत्ति जनाएका छन् । मंगलबारको मितिमा जारी गरिएको विज्ञप्ति बिहीबार मात्र सार्वजनिक गरिएको छ ।

विज्ञप्तिमा यो सम्झौता मधेसी जनता र शान्ति ल्याउने नेपाली जनताको चाहनासँग सम्बन्धित नरहेको जनाइएको छ । विप्लवले देशमा बर्सौंदेखिको वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक समस्याको समाधान वर्तमान दलाल पुँजीवादी राज्यप्रणालीबाट नहुने ठोकुवा गरेका छन् ।

‘सामान्यतः पुँजीवाद र दलाल पुँजीवादी सत्ता स्वीकार्दै वा मान्दै गरिने आपसी विवाद, सङ्घर्ष, फासिवाद र विखण्डन साथै उनीहरूबीच हुने सम्झौता पुँजीवादकै बहुअनुहार हुन् । समवर्गभित्रैका लेनदेन र सौदाबाजी हुन् । त्यहाँ न देश र जनताको विषय हुन्छ, न ती विषयप्रति नै उनीहरू इमानदार हुन्छन्, न त उनीहरूले फलाक्ने कथित सम्झौताहरूबाट शान्ति नै स्थापना हुन्छ । केवल जनतालाई भ्रमित गर्ने र आफ्नो वर्गस्वार्थ पूरा गर्ने उद्देश्य अन्तरनिहित हुन्छ,’ उनले भनेका छन् ।

‘हालै प्रचार गरिएको सरकार र सीके राउतबीचको कथित ११ बँुदे सम्झौता उत्पीडनमा परेका मधेसी जनता र शान्ति चाहने नेपाली जनताको चाहनासँग सम्बन्धित छैन । यसबाट न मधेसी जनताले कुनै अधिकार पाउनेछन्, न त विखण्डनकारी प्रवृत्तिको नै अन्त्य हुनेछ । मधेसी जनताको मुक्ति र देशमा शान्ति दलाल पुँजीवादी सत्ता चलाएर वा देश टुक्र्याएर हुनेछैन,’ विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।