पोखराकी एक मात्र महिला ट्याक्सी चालक विष्णु कुँवर, जो यात्रुको पहिलो रोजाइमा पर्छिन्

  • 5.3K
  •  
  •  
  •  
  •  
    5.3K
    Shares

कास्की, १ चैत । चालक भन्न्नेबित्तिकै जोकोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ । फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पनि यस पेशामा आइसकेको कमैलाई थाहा छ ।

विष्णु कुँवर

यातायात व्यवस्था कार्यालय, गण्डकी सवारीका नासु चूडामणि अर्यालका अनुसार झण्डै ६ हजार ट्याक्सी कार्यालयमा दर्ता भएका छन् । यस भीडमा पोखरा महानगरपालिका–५ की विष्णु कुँवरको परिचय ट्याक्सी नं ४३४१ बनेको छ । सानैदेखि फरक क्षेत्रबाट अघि बढ्न रुचि राख्ने कुँवर एथलेक्टिस र तेक्वान्दोको खेलाडीसमेत हुन् ।

सिन्धुलीका लोकबहादुर न्यौपानेसँग प्रेमविवाह गरेकी कुँवरले शुरुका दिनमा पोखरा सभागृह सडकपेटीमा तरकारीको व्यापार गरिन् । दिनहुँ सयौँ ट्याक्सी ओहोरदोहोर गर्दा सबै पुरुष चालक मात्रै देख्थिन् । प्राइभेट कार हाँक्ने महिला भने प्रशस्त देखिन्थे । उनलाई लाग्यो, महिला पनि ट्याक्सी चालक बन्न सक्दैनन् र ? उनलाई आफैँभित्रको प्रश्नले आफैँलाइ जगायो र ट्याक्सी सिक्न प्रेरित ग-यो ।

२०६७ वैशाखमा ट्याक्सी चलाउन सिकिन् । र, लगत्तै अनुमतिपत्र पनि लिइन् । श्रीमान्लाई आफूले ट्याक्सी चलाउन चाहेको बताइन्, तर स्वीकृति दिएनन् । पछि माइतमा बुबाले “हुन्छ नि, तिमीले चलाउन सक्छौ” भनेर आँट दिए । कुँवरको आत्मविश्वास बढ्यो र विस्तारै श्रीमानको साथ पनि थपियो ।

मासिक र२८ हजार किस्ता बुझाउने गरी बैंकबाट र१३ लाखमा नयाँ मारुती अल्टो गाडी निकालिन् । २०६७ जेठ १६ गतेदेखि कुँवरको परिचय महिला ट्याक्सी चालक भनेर फेरियो । फरक क्षेत्रमा आठ वर्षदेखि अविचलित उहाँ देशका कुनाकन्दरा पुगेकी छन्। । बीच बाटामा टायर पन्चर हुँदा टायर फेर्नुपरेको छ । सानोतिनो पार्टपुर्जाको काम आफै मिस्त्री बनेर बनाएकी छन् ।

आफ्नो कामप्रति उनलाई उत्तिकै आत्मसम्मान छ । हताश, निराश र अल्छी नमान्ने होे भने मासिक ६० हजारको कमाइ हुने कुँवर बताउँछिन् । उनका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन् । श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउँछन् । दुवैको आम्दानी सन्तोषजनक छ । रिजर्भमा उनको खोजी बढी हुने गर्छ । एकचोटि ट्याक्सी चढेको मानिसले उनलाई नै खोज्ने गर्छन् । यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उनको अनुभव छ ।

पेशाप्रतिको इमान्दारी पनि कुँवरमा उत्तिकै छ । एकचोटि पोखरादेखि काठमाडौँ जाने क्रममा एक यात्रुले ट्याक्सीमै झोला छाडे । पछि फर्कने बेला कलङ्कीमा त्यो झोला देखिन् । चेक र नगद गरेर झण्डै १७ लाख रहेछ । पछि प्रहरीमार्फत सम्बन्धित यात्रुलाई बुझाइन् । कुँवरले आफ्नो इमान्दारी प्रदर्शन गर्दै आएकी छन् । आज पनि ती यात्रु जापानबाट आएपछि कुँवरकै ट्याक्सीमा यात्रा गर्न मन पराउँछन् ।

‘सबै कुराबाट खुशी छु तर एउटै कुरामा सन्तुष्ट हुन सकेको छैन । मैले थुप्रै सम्मान पाएको छु, आम्दानी पनि राम्रो छ । त्यस्तो कुनै असहज अवस्थाको सामाना गर्नु परेको पनि छैन । आठ वर्षदेखि म यो क्षेत्रमा एक्लै छु । अर्को ट्याक्सी चालक महिला आउनुभएको छैन,’ उनले भनिन् । यस क्षेत्रमा आत्मविश्वास र धैर्यसँगै घर परिवार र समाजबाट सकरात्मक साथको जरुरी हुने उनको भनाइ छ । –जमुनावर्षा शर्मा/रासस