संसारकै लोकप्रिय खेलाडीको शिर्ष स्थानमा रोनाल्डो, मेस्सी र नेयमार कहाँ ?

  • 3.5K
  •  
  •  
  •  
  •  
    3.5K
    Shares

काठमाडौंः संसारकै लोकप्रिय खेलाडी को होलान् रु यसमा धेरै डिबेट गर्न सकिन्छ । तर, एक लोकप्रिय खेलकुद पोर्टल इएसपिएनले विभिन्न आधारमा तय गरेको लोकप्रिय खेलाडीको सूचीमा फेरि पनि पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो पर्न सफल भएका छन् । अघिल्लो संस्करणमा पनि उनी नै विश्वको नम्बर एक लोकप्रिय खेलाडीमा पर्न सफल भएका थिए । खेलकुद वेभ पोर्टल इएसपिएनले संसारका सय चर्चित खेलाडीको लिस्ट सार्वजनिक गर्दा फुटबल खेलाडीकै वर्चस्व छ । सूचीमा फुटबलका सर्वाधिक ३७ खेलाडी सयभित्र समावेश छन् । बास्केटबलका लेब्रोन जेम्स दोस्रो चर्चित खेलाडी हुन् । गत संस्करणमा पनि उनी नै दोस्रो नम्बरमा थिए । इएसपिएनले सामाजिक सञ्जाल, विज्ञापन तथा फलोअर्सका आधारमा विश्वका चर्चित सय खेलाडीको सूची सार्वजनिक गरेको हो ।


पोर्चुगल तथा युभेन्टसका खेलाडी रोनाल्डो सोसियल मिडियामा सक्रिय छन् । तथ्यांकअनुसार उनका १४ करोड ८० लाख फलोअर्स छन् । सोसियल मिडियामा शतप्रतिशत खोजी गर्ने खेलाडीमा रोनाल्डो नै अगाडि रहेको इएसपिएनले जनाएको छ । गत वर्ष रोनाल्डोले ३ करोड ७० लाख डलर विज्ञापन तथा अन्य क्षेत्रबाट कमाएका थिए । रोनाल्डो गत वर्ष युभेन्टसमा १० करोड पाउन्डमा अनुबन्ध भएका थिए । रोनाल्डोले च्याम्पियन्स लिग तथा फिफा वर्ष खेलाडी अवार्ड समान ५ पटक जितेका छन् । यता दोस्रो स्थानमा रहेका जेम्सलाई ४७ प्रतिशतले सोसियल मिडियाले पछ्याउने गरेका छन् । उनका ४ करोड ५० लाख सोसियल मिडियामा फलोअर्स छन् । उनले गत वर्ष विज्ञापनबाट मात्रै ५ करोड २० लाख डलर कमाएका थिए ।

अर्जेन्टिनी फुटबलर लियोनल मेसी विश्वकै तेस्रो चर्चित खेलाडी बनेका छन् । विश्वकै महँगा खेलाडी नेमार जुनियर चौथो स्थानमा यथावत् छन् । तेस्रो स्थानमा रहेका मेसीलाई ५४ प्रतिशतले सोसियल मिडियामा सर्च गरेको इएसपिएनले जनाएको छ । सोसियल मिडियामा उनको फलोअर्स १० करोड ३१ लाख छन् । गत वर्ष उनले विज्ञापनबाट २ करोड ८० लाख डलर आर्जन गरेका थिए । उनी गत संस्करणमा पनि तेस्रो स्थानमा कायम थिए । यता आश्चर्यजनक रूपमा मिक्स मार्सल आर्टका कोनर म्याकग्रेर पाँचौँ स्थानमा रहे । उनी गत संस्करणमा १८औँ स्थानमा थिए । टेनिसबाट दुई खेलाडी शीर्ष १० भित्र रहे । सर्वाधिक २० ग्रान्डस्लाम जितेका स्विट्जरल्यान्डका रोजर फेडेरर छैटौँ स्थानमा छन् । उनको गत वर्षभन्दा एक स्थान खस्किएको छ । अर्का टेनिस स्टार राफेल नाडाल आठौँ स्थानमा यथावत् छन् । यता बास्केटबलका अमेरिकन खेलाडी स्टिफेन करी नवौँ स्थानमा रहेको इएसपिएनले जनाएको छ ।