सडक पेटीबाट ८० वर्षीय असहाय वृद्धको उद्धार

  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौँ, २ चैत ः मानवसेवा आश्रम काठमाडौँले सिनामङ्गलस्थित सडक पेटीबाट एक असहाय वृद्धको उद्धार गरेको छ ।

खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० वर्षीय वृद्धलाई गए राति १२ बजे उद्धार गरिएको र अहिले उहाँलाई सामाखुशीस्थित आश्रममा राखिएको छ । कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्यताका बीच सडक जीवन बिताउँदै आउनुभएका महर्जनले दाइले घर बेचेर गाउँ गएपछि आफू सडकमा बस्दै आएको बताउनुभयो ।

मनमैँजु निवासी मुना राइले कार्यालय आउजाउ गर्दा वृद्ध व्यक्ति सडकपेटीमा सुतिरहेको देखेपछि आश्रमलाई खबर गर्नुभएको थियो । त्यसपछि आश्रमको टोली उद्धारमा गएको हो ।

कुकुरसँगै सुतिरहेको अवस्थामा उहाँलाई गए राति फेला पारिएको आश्रमका काठमाडौँ संयोजक सुमन बर्तौलाले जानकारी दिनुभयो । स्थानीयका अनुसार विगत १० वर्षदेखि उहाँ त्यही ठाउँमा बस्दै आउनुभएको थियो ।

परिवार पत्ता लगाएर उहाँलाई पुनःस्थापन गर्न प्रयास गरिने आश्रमकी अभियन्ता सन्तोषी मगरले बताउनुभयो । आश्रमले विसं २०६९ देखिनै सडकबाट उद्धार गरेर संरक्षण गर्दै अनि परिवार पत्ता लगाएर पुनर्मिलन गराउँदै आएको छ । हालसम्म ५०० भन्दा बढीलाई यसरी उद्धार गरेर परिवारमा मिलन गराइसकेको जनाइएको छ ।

आश्रमले देशका विभिन्न १४ स्थानमा शाखा कार्यालय खोलेर सडकमा पुगेका असहाय तथा मनोरोगीको उद्धार गर्दै आएको र विसं २०८२ सम्म सडकमा कष्टकर अवस्थामा असहाय नरहने अवस्था निर्माणका लागि भन्दै अभियान सञ्चालन गरेको छ । (रासस)