प्रधानमन्त्री केपी ओलीले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई हप्काएपछि….

  •  
  •  
  •  

काठमाडौं, २७ चैत । सरकारी चिकित्सकले आकस्मिकबाहेक अन्य उपचार सेवा ठप्प पारेको बुधबार ६ दिन भइसकेको छ । तर, अहिलेसम्म सरकार र चिकित्सकबीच सहमति हुन सकेको छैन ।

सरकारी चिकित्सकले राखेको मागका विषयमा छलफल गर्न मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्यो । बैठकमा प्रधानमन्त्री केपी ओली, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, मुख्यसचिव लोकदर्शन रेग्मी, स्वास्थ्यसचिव चन्द्रकुमार घिमिरे र सचिव डा. पुष्पा चौधरी सहभागी थिए ।

प्रधानमन्त्री ओलीले सरकारी चिकित्सकका मागका विषयमा सामान्य प्रशासनमन्त्री पण्डितसँग सोधेका थिए । ३० मिनेट छलफलमा सहभागी भएका प्रधानमन्त्रीले डाक्टर समायोजनप्रति असन्तुष्टि जनाए । ‘मैले विशेषज्ञ चिकित्सकलाई संघमा राख्नु भनेको थिएँ । तपाईंहरूले किन नराखेको ?’ भन्दै प्रधानमन्त्री ओलीले सामान्य प्रशासनमन्त्री पण्डितलाई हप्काएको स्रोतले बतायो । प्रधानमन्त्रीले हप्काएपछि मन्त्री पण्डितको अनुहार नीलो बनेको बताइन्छ ।

कर्मचारी समायोजनमा मन्त्री पण्डित निकै अनुदार देखिएका छन् । उनी सरकारी कर्मचारी वा डाक्टर सरकारले जहाँ खटायो त्यहीँ जानुपर्ने पक्षमा छन् । प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि सामान्य प्रशासन मन्त्रालयले चिकित्सकहरूलाई पुल दरबन्दीमा राख्ने तयारी थालेको छ ।

‘संघमा नपरेका चिकित्सकलाई पुल दरबन्दीमा राखेर प्रदेश र स्थानीय तहमा खटाउने विषयमा सरकार सकारात्मक देखिएको छ,’ स्रोतले भन्यो । प्रदेश र स्थानीय तहमा खटिएका डाक्टरलाई पुल दरबन्दीमा राखेर संघीय सरकारले आवश्यकता परेको स्थानमा पठाउन सक्छ । आज सरकारले यही विषयमा सरकारी चिकित्सक संघसँग वार्ता गर्ने भएको छ ।

सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले शुक्रबारदेखि आकस्मिकबाहेक सबै सेवा ठप्प पार्दा दैनिक १०औँ हजार बिरामी मर्कामा परेका छन् ।