नेकपामा शक्तिशाली बनेका विष्णु पौडेल बालुवाटार जग्गा काण्डले थचक्कै, भीम रावललाई चिठ्ठा

  • 1.4K
  •  
  •  
    1.4K
    Shares

काठमाडौं, २७ चैत । कुनै पनि क्षेत्रमा मानिस सधैं एउटै उचाइमा र शक्तिशाली भइराख्दैन भन्ने उदाहरण विभिन्न घटनाक्रमले देखाइरहेको छ । नेपालको राजनीतिमा त झन् धेरै छ । कुनै समय सबैभन्दा शक्तिशाली र चर्चित मानिने व्यक्ति कुन समय रसातल पुग्ने हो ठेगान हुँदैन ।

यस्तै, उदाहरण बनेका छन् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गराएपछि आफूभन्दा सिनियर नेतालाई पछाडि पार्दै पौडेलले नेकपाको महासचिव प्राप्त गरेका थिए । नेकपामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको अति विश्वास पात्र पौडेल कुनै समय माधवकुमार नेपालका निकट थिए । सरकारी जग्गा खरिद काण्डमा मुछिएपछि पौडेलको अहिले निदहराम भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार र प्रधानन्यायाधीश निवासको ११३ रोपनी जग्गा ललिता निवासले चर्र्चेको र सोमध्ये नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा आठ आना जग्गा पास भएको खुलेपछि यो प्रकरणले नेकपामा भुइँचालो गएको छ । सञ्चारमाध्यमले प्रमाणसहित समाचार छापेपछि पौडेल बुधबार बिहानदेखि सामाजिक सञ्जालमा आलोचित छन् । नेकपाकै नेता कार्यकर्ताले समेत पौडेलको राजनीतिक इमान्दारीमा प्रश्न उठाएका छन् ।

सरकारले ललिता निवासको नाममा रहेको ११३ रोनी जग्गा सबै अधिग्रहण गर्ने तयारी गरेको छ । यदि सो जग्गा बिना मुआब्जा अधिग्रहण गरेमा पौडेलको आठ आना जग्गा पनि कोल्याप्स हुने भएको छ । पार्टीकै पदाधिकारीदेखि अख्तियारका पूर्व र हालका आयुक्त पनि सरकारी जग्गा मिलेर सस्तोमा खरिद गर्ने काण्डमा मुछिएपछि प्रधानमन्त्री केपी ओली पनि चिन्तित बनेका छन् ।

यो प्रकरणले पौडेलको महासचिव पद तल–माथि नभए पनि आगामी दिनमा उनलाई राजनीतिमा सशक्त ढंगले अघि बढ्न अप्ठेरो अवस्था सिर्जना भएको छ । पौडेलमाथि अर्थमन्त्री हुँदा एनसेलको पुँजीगत लाभकर उन्मुक्ति र १८ लाख घूस लिएको आरोप लागेका न्यायाधीश लेखनाथ ढकाललाई उन्मुक्ति र बढुवामा दबाब दिएको आरोप लागिसकेको छ ।

चूडामणि शर्मा र लोकदर्शन रेग्मीलाई साथ लिएर एनसेलले कर तिर्नुपर्दैन, सबै म मिलाउँछु भनेर हिँड्ने पौडेल विवादमा परेपछि यसको राजनीतिक फाइदा भीम रावललाई हुने देखिएको छ । रावल भ्रष्टाचार अहिलेसम्म मुछिएका छैनन् । पार्टी नेतृत्व र सरकारको कमजोरीको कडा रूपमा आलोचना गर्ने भएकाले पनि उनी पार्टी पंक्तिमा लोकप्रिय छन् ।