भारतमा पहिलो चरणको चुनाव आज, ९१ निर्वाचन क्षेत्रमा मतदान हुँदै, नरेन्द्र मोदी र राहुल गान्धीको अग्निपरीक्षा

  • 46
  •  
  •  
    46
    Shares

एजेन्सी, २८ चैत । भारतमा लोकसभाअन्तर्गत पहिलो चरणको मतदान बिहीबार हुँदैछ । पहिलो चरणमा ९१ निर्वाचन क्षेत्रमा चुनाव हुनेछ । २० वटा राज्य र केन्द्रशासित क्षेत्रका ९१ वटा निर्वाचन क्षेत्रमा मतदान गर्नेछन् ।

संसद्को तल्लो सदन लोकसभाका लागि सात चरणमा हुने मतदान मे १९ तारिखसम्म हुनेछ । मतगणना भने २३ तारिखमा सुरु हुनेछ ।
नब्बे करोड मतदाता रहेको भारतको निर्वाचनलाई विश्वमा अहिलेसम्म भएको सबैभन्दा ठूलो निर्वाचन मानिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कंग्रेस आईका अध्यक्ष राहुल गान्धीका लागि यो चुनाव जनमतसंग्रहका रूपमा हेरिएको छ । भारतीय जनता पार्टीले सन् २०१४ को निर्वाचनमा ठूलो मतसहित जितेको थियो । भाजपाले अहिलेको जस्तै बहुमत कायम निर्वाचन अभियान चलाएको छ ।

तर बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट उसले चुनौतीको खेप्नुपरेको छ । राहुल गान्धीका बुवा राजीव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुबुवा जवाहरलाल नेहरू सबै नै भारतको प्रधानमन्त्री बनेका थिए ।

उनकी बहिनी प्रियङ्का गान्धी गत जेनुअरीमा राजनीतिमा प्रवेश गरेकी थिइन् । प्रचारप्रसार निकै उग्र देखिएकाले केही पर्यवेक्षकहरूले यो मतदानलाई दशकौँको सबैभन्दा महत्वपूर्ण निर्वाचनका रूपमा हेरेका छन् ।

मोदी भाजपाका लागि मत तान्ने प्रमुख व्यक्तिमा रूपमा रहेका छन् । तर आलोचकहरूले आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने उनको वाचा पूरा हुन नसकेको बताएका छन् । मोदीको नेतृत्वमा धार्मिक ध्रुवीकरण भएको भन्दै उनीहरूले आलोचना गरेका छन् ।
संसद्को तल्लो सदन अर्थात् लोकसभामा पाँच सय ४३ निर्वाचित सिट छ र सरकार बनाउन कुनै पनि पार्टी वा गठबन्धनले कम्तीमा दुई सय ७२ सिट जित्नुपर्नेछ ।