महालेखाको प्रतिवेदन गँवारहरूले लेख्ने गरेको पूर्वसचिव उपाध्यायको आरोप

  • 14
  •  
  •  
    14
    Shares

काठमाडौं, २८ चैत । पूर्वसचिव भीमप्रसाद उपाध्यायले महालेखा परीक्षक कार्यालयको प्रतिवेदनबारे प्रश्न उठाएका छन् । एक वर्षअघि अवकाश पाएका उपाध्यायले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर महालेखाको प्रतिवेदन पढ्दै नपढेका, विकास विरोधी, प्रोजेक्ट म्यानेजमेन्ट नबुझेका गँवारहरूले लेखेको उनको आरोप छ ।

लामो समय स्थानीय विकास मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालयमा बसेका उपाध्यायले महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमाथि के के गम्भीर आरोप लगाएका छन् ? हेरौ :

प्रोजेक्ट व्यवस्थापन सम्बन्धमा महालेखाको प्रतिवेदन मनगढन्ते र प्राविधिक ज्ञानरहित हुने गरेको पाएको छु । जटिल प्रकारको प्रोजेक्ट चलाउने पद्धति र त्यसका जटिलताका कुरा तिनका दिमागको बसको बात हैन ।

ती पैसा गनेरै, भएको खर्च देखेर, गोश्वारा भौचर हेरेरै बेरूजु, अनियमितता वा भ्रष्टाचारको बिल्ला लगाउनमा अक्सर सीमित हुन्छन् । किनभने विकासमा तिनलाई सिन्को भाँच्नु पनि छैन । भाँडमा जाये विकास, अरूले भाँचेकोमा दोष केलाउँदै यो जुनी बिताउनु छ ।

नेपालमा काम गर्ने एक, तर उसको काम चेक गर्ने, निर्देशन दिने गैरजिम्मेवार निकायहरू दर्जनौं छन् । त्यसैले यहाँ जेमा पनि समस्या छ, समस्या देखाउने दर्जनौं निकायको बोलवाला र हल्लामा पत्यार छ । काम गर्नेले बोलेको कुरा बतासले उडाइदिन्छ ।

बेरूजु भइरहन्छन् काममा, यो कुनै ठूलो कुरा भएन, तर त्यसलाई भ्रष्टाचार भयो भन्दै स्यालहुइय्या‘ र होहल्ला मच्चाउनेहरू ईष्र्या र डाहले मरिरहेका जन्तुहरू मात्र हुन्, पेशाविद् बिद्वैषी मात्र हुन् । काममा भएको खर्च, पेस्की, मोबिलाइजेसनलाई पूरै भ्रष्टाचार भन्नेहरूको दिमाग नै भ्रष्ट भएर यस्तो सोच पलाएको हो ।

मिडियामा आएको कुरा कै भरमा त भन्न सकिन्न, कुरा बुझ्न खास रिपोर्टमा के कसरी लेखिएको छ त्यो हेर्नुपर्छ । प्रतिवेदनको लिखत, मनसाय र तिनका पूर्वाग्रही लेखनशैली पढ्दा प्रतिवेदनको रूझान कता छ सहजै बुझ्न सकिन्छ । महालेखाको रिपोर्टहरू प्रोजेक्ट कसरी चल्छ त्यससँग कुनै मतलब नराखी गवाँरहरूले लेख्ने गरेको मेरो अनुभवले भन्छ ।

महालेखा भ्रष्टाचार भयो भन्ने निकाय पनि हैन । त्यो अनियमितता र बेरूजु देखाउने निकाय हो । उसले लेख्दैमा ऊ ठिक र कामगर्ने वेठिक भन्ने पनि हैन, किनभने यसमा उठेका कुरा संसद्ले नकार्न पनि सक्छ । बेरूजु नभन्न पनि सक्छ । महालेखा अडिटरले अधिकार छ भन्दै कलुषित मनले जे मन लाग्यो त्यो अडिट रिपोर्टमा लेख्ने पनि गरिआएका भेटिन्छन् किनभने ऊ कसैप्रति जवाफदेही हुन नपर्ने निकाय हो ।

अडिटरको चाहनाको चित्त बुझाए जे पनि सहीसलामत हुने गरेको पाएको छु, मेरो ३५ वर्षे जागिरे अनुभवमा । जगजाहेरै छ , निश्चित दस्तुर नलिई तिनले कलम नै चोप्दैनन् , अनि रिपोर्टको विषय, शैली, रूझान, गंभीर्यता र गुणस्तर दस्तुरले निर्धारण गर्ने कुरा घाम जत्तिकै छर्लंग छ । नेपालमा महालेखा , अख्तियार , सामान्य, अर्थ , अदालत ,संसद लेखा समिति ( यी सबै जसो प्रोजेक्ट संस्कृतिका अनाडी र बिकास संस्कृतिका बिरोधी छन् । त्यसैले यो मुलुक आजसम्म उभो लाग्न सकेको छैन र यसरी सक्दैन पनि ।

गल्ती गर्नेलाई कारबाही हुनुपर्छ, तर प्रोजेक्ट देख्यो कि कमलपित्ते प्रतिवेदन लेखेर अरूलाई भ्रष्ट देखाउनुमा महारथी छान्ने, ठालू पल्टनेहरू विकास विरोधी हुन् । भ्रष्ट मनले भ्रष्टाचार देख्ने र लेख्ने हुने गर्छ नै । प्रोजेक्टको छन्द नजान्नेले प्रोजेक्ट म्यानेजमेन्टको प्रवचन र व्याख्यान दिइरहेको कुनै मुलुक विश्वमा छ भने त्यो नेपालमै हुनुपर्छ ।