प्रचण्ड र विष्णु पौडेललाई लिएर प्रधानमन्त्री ओली मध्यरातमै पुगे चन्द्रागिरी रिसोर्ट, के नेकपामा महासचिव फेरिन लागेको हो ?

  • 288
  •  
  •  
    288
    Shares

काठमाडौं, २९ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अहिले बालुवाटारमा सरकारी जग्गा खरिद काण्डले विवादमा परेका छन् ।

सुरुमा आनामा चार लामा किनेको भनिए पनि पछि जग्गा दलाल शोभाकान्त ढकालले उनलाई सो आठ आना जग्गा त्यत्तिकै रजिस्ट्रेसन गरिदिएको खुलेपछि पौडेल पार्टीभित्रै आलोचित बनेका छन् ।

नेकपाको शक्तिशाली पदमा बसेको व्यक्तिले नै राजनीतिक सेटिङ मिलाएर जग्गा पास गरेको तथ्य खुलेपछि पौडेललाई अहिले महासचिवबाट हटाउनुपर्ने आवाज बुलन्द हुँदै गएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पूर्ण रूपमा पार्टी एकीकरण नभएको सन्दर्भमा नेकपाका महासचिव विवादमा परेपछि पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड चिन्तामा परेका छन् ।

यसै क्रममा बिहीबार मध्यराति प्रधानमन्त्री ओली ‘प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपाका महासचिव विष्णु पौडेललगायतका नेताहरु चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका छन् । उनीहरू भर्खरै मात्र सञ्चालनमा आएको रिसोर्ट पुगेको विषय पार्टीभित्र समेत गोप्य राखिएको छ ।

नेकपाभित्रको एकताको मिल्न बाँकी विषय चन्द्रागिरी रिसोर्टमा बसेर मिलाउन शीर्ष नेता गएको पार्टी स्रोतले बतायो । नेकपामा पार्टी एकता भएको एक वर्ष हुनै लाग्दा पनि जिल्ला र तल्ला कमिटीहरुको एकीकरण हुन सकेको छैन ।

पछिल्लोपटक ओली पक्षले माधव नेपाल पक्षलाई पूर्वएमालेले पाउने कोटाबाट ७७ मध्ये दुई जिल्ला अध्यक्ष दिएपछि नेपाल पक्ष आक्रोशित छन् । नेता नेपालले दुवै अध्यक्षलाई सम्मानजनक एकीकरण नभए सबै जिल्लामा समानान्तर कमिटी गठन गर्ने चेतावनी दिइसकेका छन् ।

चन्द्रागिरी हिल्सको रिसोर्ट केही समयअघि मात्र सञ्चालनमा आएको हो । ग्लोबल आईएमई ग्रुपका चन्द्र ढकालले सो रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । रिसोर्टमा एक रात बसेको सामान्य शुल्क २५ हजारदेखि सुरु हुन्छ । यसअघि पनि नेकपाका नेताहरूले गोकर्ण रिसोर्ट, व्यापारीहरु शारदाप्रसाद अधिकारी तथा दुर्गा प्रसाईको घरमा गएर बैठक राख्ने गरेका थिए ।