बालुवाटारको सरकारी जग्गा अपचलनबारे विवेकशील साझाले भन्यो, गिरोहको शक्ति डरलाग्दो

  • 11
  •  
  •  
    11
    Shares

काठमाडौं, २९ चैत । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले राजधानीका विभिन्न भागमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको बहुमूल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भूमाफिया’ को मिलेमतोमा अपचलन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनुले सरकारी जग्गा अपचलन गर्ने गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत गरेको उसको ठम्याइँ छ । विवेकशीलले अनुसन्धान र आवश्यक कारवाहीका लागि सरकारले गरेको पहललाई स्वागत गरेको छ ।

त्यस्तै बौद्धस्थित हायात रिजेन्सी होटलले गैरकानुनी तवरले सयौँ रोपनी सरकारी जग्गा अपचलन गरेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ठहर गरेकाले सो प्रकरणमा पनि आवश्यक अनुसन्धान गरी सरकारी सम्पत्तिको संरक्षण गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

‘बढ्दै गएको भ्रष्टाचार र अनियमितताका यस्ता घटनाहरुले सरकारको विश्वसनियतामा आँच पुग्नेमात्र होइन, त्यसले ठूला विदेशी लगानीका संभावनाहरूमा समेत प्रतिकूल असर पार्दछ,’ विवेकशीलले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।