पार्टी महासचिव विष्णु पौडेललाई बर्खास्त गर्न माग गर्दै नेकपा सदस्यले लेखे ओली र प्रचण्डलाई चिठी (पत्रसहित)

  • 140
  •  
  •  
    140
    Shares

काठमाडौं, २ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हेमबहादुर खड्काले पार्टीका महासचिव विष्णु पौडेललाई बर्खास्त गर्न माग गरेका छन् ।

खड्काले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरी लेखेको चिठीमा अर्थमन्त्रीसमेत भइसकेको व्यक्ति र मुलुककै ठूलो पार्टीका महासचिव जस्तो पदमा रहेको व्यक्तिले बालुवाटारको सरकारी जग्गा आफ्नो परिवारको नाममा पास गर्नु गलत मात्रै हैन, अपराध रहेको भन्दै उनलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ ।

खड्काले सञ्चारमन्त्री जस्तो पदमा रहेका गोकुल बास्कोटाले महासचिव ठगिएको भनेर बोल्नु गलत रहेको भन्दै उनले नैतिक आधारमा पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरेका छन् ।

श्रद्धेय अध्यक्षज्यू,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
केन्द्रीय कार्यलय, काठमाडौं ।
विषय ः महासचिव पौडेललाई बर्खास्त गर्नेबारे ।
महोदय,
पार्टी एकताको ऐतिहासिक क्षणमा म नेपाली नागरिकको बीचबाट असिम आशा, भरोसा विश्वास बोकेर पार्टीको सिद्धान्त र कार्यदिशामा अटुट र अविचलित एक योद्धा भई आएको व्यहोरा सगर्वका साथ भन्न चाहान्छु ।
राजनीतिक स्थिरता, सुशासन र विकास ल्याउने सपना मैले म जस्तै धेरै नागरिकलाई बाँडेको थिएँ र निष्पक्ष न्यायपालिका र सक्षम कार्यपालिका निर्माणको प्रक्रियामा मेरो सरकार रहेको वकालत गर्दै आएको थिएँ । तर सरकार गठनको समययतालाई हेर्दा नागरिकमा निरासा, वितृष्णा र घृणा पैदा हुँदै आएको महसुस भएको छ ।
— यातायात सिन्डकेट खारेजीको उठान गरि कार्यन्वयन हुन नसक्नु,
— ३३ किलो सुन पनि हराउनु दोषीहरु पनि तारिखमा छुट्दै जानु,
— निर्मला हत्या प्रकरण सेलाएर सकिनु,
— एनसेलको लाभकर उठाउन नसक्नु, तर कुखुरासमेतमा सर्वसाधारणलाई करको भारी बोकाउनु ।
— वाइडबडी घोटला प्रकरण र भ्रष्टचारको आरोप यतिकै हराउनु ।
— गोपाल खड्का आयल निगम भ्रष्टचार र कंसाकार भ्रष्टहरुलाई त्यतिकै छोड्नु ।
— मेलम्चीको २.२० अर्व भ्रष्टचार ओझेल पर्नु ।
— जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने बहानामा गैरनेपालीलाई नागरिकता वितरण गर्ने प्रपञ्च रच्ने ।
यी जनघाती र राष्ट्रघाती कार्यहरु भएको ठोस गरेको छु । पछिल्लो समय सरकारमा रहेको दुई तिहाइ नजिकको पार्टीको महासचिवले बालुवाटारको सरकारी जग्गा आफ्नो परिवारको नाममा पास गर्नु गलत मात्रै हैन, अपराध हो । चोरीको सुन किन्ने अपराधी हुने चोरीको जग्गै किन्ने अपराधी नहुने ? अर्थमन्त्री बनिसकेका मान्छे ? यत्रो ठूलो पार्टीको महासचिव ठगीमा परें भनी मिडियामा बोल्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले नैतिक जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ ।
अन्त्यमा, म मेरो पार्टीबाट तत्काल महासचिव पौडेललाई कारवाही गरी बर्खास्त गर्न श्रद्धेय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई हार्दिक अनुरोध गर्दछु । क्रान्तिकारी अभिवादनसहित ।
सदस्य
हेमबहादुर खड्का
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)