अमेरिकी सेनाको अत्याधुनिक स्काई ट्रक विमान यसै वर्ष नेपाल आइपुग्ने, यस्तो छ विशेष विमान

  •  
  •  
  •  

काठमाडौं, २ वैशाख । पछिल्लो समय अमेरिकाले नेपालप्रति हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन ल्याएको छ । खासगरी नयाँ राजदूतमा रेन्डी बेरीलाई नेपाल पठाएपछि अमेरिकाको हेर्ने दृष्टिकोण र सोचमा परिवर्तन आएको देखिएको छ ।

अमेरिकाले इन्डो प्यासेफिक रणनीतिअन्तर्गत नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै अनुदान सहयोग उपलब्ध गराउने घोषणासमेत गरेको छ । अमेरिकी राजदूत रेन्डी बेरीले यसै वर्षको अन्त्यसम्म नेपालमा अत्याधुनिक दुईवटा स्काई ट्रक विमान आइपुग्ने जानकारी गराएका छन् ।

राजदूत बेरीले सोमबार बिहान ट्विटमार्फत त्यसको जानकारी गराएका हुन् । उनले विमानमै पखेंटा जडान भएको र त्यो विमान अमेरिकी सेनाको सहयोगमा नेपाल आउन लागेको उल्लेख गरेका छन् । नेपाल आइपुगेपछि त्यो पहिलो मेडिकल एयरक्राफ्ट विमान हुने र त्यसले नेपालको विपद् व्यवस्थापनमा गेम चेन्जरको भूमिका निर्वाह गर्ने राजदूत बेरीले विश्वास लिएका छन् ।

केही समययता चीनले नेपालमा चर्को ब्याजमा ऋण सहयोग उपलब्ध गराउँदै आएका बेला अमेरिकाले भने अनुदान सहयोग रकम बढाएको छ भने विभिन्न सैनिक सामग्रीसमेत सहयोग गर्ने जनाएको छ ।