यो तस्बिर जसले हाम्रो हैसियत देखाउँछ

  •  
  •  
  •  

काठमाडौं, २ वैशाख । यो तस्बिर गहिरिएर हेर्नोस् । तीनजना विशिष्ट व्यक्तित्व । एकजना बहालवाला प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्री । एकजना प्रमुख प्रतिपक्षी दलका नेतासमेत हुन् । अर्का सत्तारुढ दल नेकपाका अध्यक्षद्वय ।

प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा तीनैजनाले एउटै कार्यक्रममा माला पहिरिएका छन् । तीनैजनाको अनुहार मलिन छ । प्रसन्न कोही छैनन् । दुई नेताले कम्युनिस्ट र एक नेताले लोकतान्त्रिक विचारको प्रतिनिधित्व गर्छन् । तर, तीनैजना धार्मिक कार्यक्रममा सहभागी भएका छन् ।

‘आदित्य ज्योतिपथ’ पुस्तकको अंग्रेजी संस्करण विमोचन कार्यक्रममा आइतबार तीनैजना एउटै मञ्चमा देखिए । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेता एउटै मञ्चमा देखिनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर, यी तीनैजनाको सोच र व्यवहार छुट्टै मञ्च पाएपछि अर्कै देखिन्छ ।
मुलुक धर्मनिरपेक्ष घोषणा भएको १२ वर्ष बितिसकेको छ । तर, सरकार प्रमुख रहेका प्रधानमन्त्री बालक आदित्यनाथको नाममा भएको महायज्ञको उदघाटन गर्छन् । उनको नाममा प्रतिष्ठान खोल्छन् । अध्यात्म विकासका लागि करोडौं रुपैयाँ छुट्याउँछन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी ओली एउटै अभियानमा उभिएका छन् । ज्ञानेन्द्रले परम्परागत मठमन्दिर घुमेर पूजाअर्चना गरेका छन् । एउटा हिन्दू धर्मावलम्बी व्यक्तिले मन्दिरमा पुगेर पूजा गरिनुलाई अन्यथा लिनुपर्ने आवश्यकता छैन । तर, केपी ओलीले अपांगता बालक आदित्य दाहाललाई देखाएर दासयुगीन ऋषिमुनिहरु र ब्राह्मणहरुको इतिहासबाटै समाप्त भइसकेको अलौकिकताको प्रचार गरेका छन् । केपी ओलीको अगुवाइमा आदित्य दाहालको नाममा राज्यको करोडौं रुपैयाँ स्वाहा पार्नु आर्थिक अपराध हो ।

प्रधानमन्त्री ओलीले विपक्षी नेतालाई गन्न छाडेको एक वर्ष बढी भइसक्यो । उनमा दुई तिहाइको दम्भ छ । विपक्षी दलका नेतालाई उनी ‘नन्दीभृंगी’ को विशेषण दिन्छन् । पछिल्ला दिनमा सत्तारुढ र विपक्षीबीचको सम्बन्ध थप चिसिएको छ । प्रधानमन्त्री ओली र विपक्षी नेपाली कांग्रेसका सभापति देउवाले सार्वजनिक रुपमै एकले अर्काप्रति कटाक्ष गर्दै आएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै संवैधानिक परिषद्ले संवैधानिक अंगहरुमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने अभियानलाई ओलीले तीव्रता दिएका छन् । तर, विपक्षी दलका नेता सशक्त आवाज उठाउने हैसियतमा पनि छैनन् । प्रधानमन्त्री एउटा अपांगता बालकको नाममा राज्यकोष मनपरी दोहन गर्छन्, तर विपक्षी दलका नेता चुइँक्कसमेत बोल्दैनन् ।

सत्तापक्ष र विपक्षीको लडाइँ राजनीतिक चरित्रको भाषणमा मात्र सीमित छैन । एक अर्काप्रति उनीहरु निकै असहिष्णु बन्दै गएका छन् । चार–चार पटक प्रधानमन्त्री बनेका कांग्रेस सभापति देउवाले सार्वजनिक कार्यक्रमै प्रधानमन्त्री ओलीको नाम रुपान्तरण गर्दै करप्रसाद ओलीको संज्ञा दिए ।

बहालवाला प्रधानमन्त्री ओलीका हर व्यवहार र बोली जिम्मेवार हुनुपर्छ । तर, प्रधानमन्त्री जत्तिको व्यक्तिले विपक्षी दललाई सार्वजनिक कार्यक्रममै ‘नन्दीभृंगी’ भनिदिए । यतिसम्म अहिष्णु छन् हाम्रा नेताहरू । जो अहिलेको नेपालीको सक्कली तस्बिर हो । यसले हाम्रो हैसियत देखाउँछ । मुलुकमा धेरै क्षेत्रमा सुधार बाँकी छ । गर्नुपर्ने धेरै काम बाँकी छ । तर, नेताहरू मञ्चमा उभिँदा राम्रा देखिन्छन् ।