वाग्मती कोरिडोरमा टहरा

  • 9
  •  
  •  
    9
    Shares

काठमाडौँ, २ वैशाख (रासस)ः अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले एशियाली विकास बैंक(एडीबी)को ऋण सहयोगमा गरिरहेको वाग्मती सौन्दर्य अभिवृद्धिको काम फेरि रोकिएको छ ।

वाग्मतीको गोकर्णेश्वरबाट गुह्येश्वरीसम्मको नदीमा बहाब क्षेत्र कायम गरी किनारमा सडक निर्माण गर्दा स्थानीयवासीको १८८ रोपनी जग्गा नदीमा पारिएको थियो । त्यसको मुआब्जा माग गर्दै स्थानीयवासीले २०५५ सालदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् । मुआब्जा माग गर्दै वाग्मती पीडितले गत फागुन दोस्रो साता पनि काम रोकेका थिए ।

गत फागुन २८ गते शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले स्थानीयवासीसँग सम्झौता गरी गत चैत ३० गतेसम्म मन्त्रिपरिषद्बाट प्रस्ताव पारित गराई मुआब्जा दिने प्रतिबद्धता जनाउनुभएको थियो । त्यो पूरा नभएपछि काम रोकी लालपूर्जामा भएको जग्गामा टहरा निर्माण गर्न थालेको वाग्मती पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले बताउनुभयो ।

वाग्मती कोरिडोर रहेको सडकमा बनाइएको टहरा मुआब्जा नपाएसम्म नहटाउने पीडितले बताएका छन् । विसं २०५७, २०६५, २०६७ र २०७४ मा गठन भएका आयोगले पनि किसानलाई मुआब्जा दिनुपर्ने प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ । विसं २०७५ मङ्सिर १२ गते अधिकार सम्पन्न वाग्मती समितिले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी मुआब्जा दिने सार्वजनिक गरेपनि प्रक्रिया अघि बढ्न नसकेको पीडित बलराम चौलागाईंले गुनासो गर्नुभयो । वाग्मतीमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, काठमाडौँ महानगरापालिका–६ र ७ का स्थानीयवासीको १८८ रोपनी जग्गा परेको समितिले जनाएको छ ।