भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङलाई ‘प्रबल जनसेवा श्री’ पदक बिक्री गरेको नेकपाका केन्द्रीय सदस्यको खुलासा

  •  
  •  
  •  

काठमाडौं, ३ वैशाख । यसपटक सरकारले प्रदान गरेको विभिन्न विभूषण र मानपदवी विवादमा परेको छ । चिकित्सकको लाइसेन्सका लागि लिइएको परीक्षामा फेल भएकादेखि नक्कली भ्याट बिल बनाएर राज्यलाई ठग्नेहरूले पनि मानपदवी पाएपछि यो जनस्तरमा आलोचित भएको हो ।

संविधान दिवसको अवसरमा घोषण गरिएको विभूषण र मानपदवी लिने अनुहारका कारण प्रधानमन्त्ती केपी ओली नै आलोचित भएका छन् । अहिले सर्वाधिक चर्चा र विवाद भाटभटेनी सुपर मार्केटका साहू मिनबहादुर गुरुङले पाएकोमा भएको छ ।

बालुवाटारमा रहेका ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा पार्न सफल गुरुङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रवल जनसेवाश्री तृतीय पदकबाट विभूषित गरिन् ।

प्रधानमन्त्री निवास बालुवाटारभित्रको ११२ रोपनी जग्गामध्ये ८० रोपनी सरकारी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले आफ्नो दर्ता गरेर भाटभटेनीको नाममा टहरो बनाई गोदाम बनाई राखेका छन् । नापी विभाग, मालपोत कार्यालयका भ्रष्ट कर्मचारीहरूसँग मिलेमतो गरेर करिब आनाको ८० लाख पर्ने सो बहुमूल्य जग्गा करिब दुई वर्ष अगाडि मीन बहादुर र उनकी श्रीमतीको नाममा ५० रोपनी र डा.शोभाकान्त ढकालको नाममा ३० रोपनी सरकारी जग्गाको पूर्जी बनाएको फेला परेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको छानबिनमा रहेका गुरुङसहित यस वर्ष तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन् । रातारात सरकारी सम्पत्ति हडप्ने गुरुङलाई सरकारले कारबाही गर्नुको साटो उल्टै सुप्रवल जनसेवाश्री तृतीय पदकले विभूषित गरेर लोक हँसाएको भन्दै सत्तारुढ नेकपाभित्रै असन्तुष्टि देखिएको छ ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले गुरुङलाई मानपदवी बिक्री गरेको रहस्य खोलेका छन् । मंगलबार ट्विटमार्फत उनले भनेका छन्, ‘नक्कली भ्याट बिल बनाएर राज्यलाई ठगेको अभियोगमा राज्यले जसका विरूद्ध अदालतमा मुद्दा दायर गरेको छ, उसैलाई प्रवल जनसेवाश्री ? थपमा, बालुवाटार जग्गा प्रकरणमा उनी सीआइबीको छानविनको दायरामा छन् । दया मीनबहादुर गुरुङमाथि होइन, पदक बिक्री–वितरण गर्नेहरूमाथि छ ।’