उत्तम सञ्जेलले प्रधानमन्त्री ओलीसहित प्रचण्ड र माधव नेपाललाई बनाए ‘बेवकुफ’, मदनकृष्ण श्रेष्ठले किन गरे प्रशंसा ?

  •  
  •  
  •  

काठमाडौं, ३ चैत । समता स्कुलका सञ्चालक उत्तम सञ्जेल फेरि एकपटक चर्चामा आएका छन् । सय रुपैयाँमै स्नातकोत्तर तहसम्म पढाइ र सय रुपैयाँमै सबै रोगको परीक्षण गराएर चर्चामा आएका सञ्जेल यसपटक विवादमा परेका छन् ।

उनी विवादमा पर्नुको कारण हो, मुलुकको बहालवाला प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीलाई ‘बेवकुफ’ बनाउनु । प्रधानमन्त्री केपी ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबीआर) प्रमाणपत्र नक्कली रहेको पाइएपछि चौतर्फी यसको विरोध भएको हो ।

मंगलबार बिहानै प्रमाणपत्र नक्कली भएको तथ्य खुलेपछि बालुवाटारमा हल्लीखल्ली मच्चिएको छ । सो कार्यक्रमलाई सोमबार बिहान प्रधानमन्त्री कार्यालयले निकै महत्व दिएको थियो । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार कुन्दन अर्यालले पटक–पटक ट्विटमार्फत तस्बिर सार्वजनिक गरेका थिए ।

प्रमाणपत्रमा सन्तोष शुक्ला नाम गरेका व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन् । उनलाई भारतको सर्वोच्च अदालतले वकिल भनेर उल्लेख गरिएको छ । तर उनको नाम सर्वोच्च अदालतको वकिलको सूचीमा पनि नभेटिएपछि प्रमाणपत्र नै नक्कली भएको खुलेको हो ।

यसअघि गोपाल पौडेल नाम गरेका एक व्यक्तिले विदेशका विश्वविद्यालयको खेतीपाती गर्थे । उनले नेपालका चर्चित र लोकप्रिय धेरै व्यक्तिलाई पीएचडीको उपाधि दिलाएका थिए । तर, त्यो उपाधिको प्रमाणपत्र नक्कली भएको खुलेपछि हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिर्ता गरेको घोषणा गरेका थिए । अझै पनि धेरैले त्यो उपाधि फिर्ता गरेका छैनन् ।

एकपटक आफैं नक्कली उपाधिको मारमा कलाकार श्रेष्ठले यसचोटि उत्तम सञ्जेलको खुबै तारिफ गरेका छन् । उनले समता स्कुल संसारकै सबैभन्दा सस्तो र सुलभ स्कूलका रुपमा द वल्र्ड बुक अफ रेकर्डस् लन्डनमा दर्ता भएकोमा खुसी व्यक्त गरेका छन् । सञ्जेललाई उनले नेपाल आमाको सपूत भनेर प्रशंसा गरेका छन् ।

समता स्कुल नेपालको ७७ रै जिल्ला र भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स, म्यान्मारलगायतका देशमा पनि खुलेका छन् । तर, समता स्कुलमा कसको लगानी छ भन्ने कुरा अहिलेसम्म खुलेको छैन । धेरैले यसमा डा.उपेन्द्र महतो र मह जोडीको अप्रत्यक्ष लगानी रहेको अनुमान गरेका छन् ।

सय रुपैयाँमै शिक्षा र उपचार सेवा दिने उत्तम सञ्जेल आफू भने निकै ढाेंगी रहेको जोरपाटीतिरका स्थानीय बताउँछन् । उनको जोरपाटीमा पाँच तल्ले भव्य बंगला छ । दुई तीनवटा कारका मालिक सञ्जेल विशेष सभा समारोह, सेमिनारमा जाँदा सार्वजनिक गाडीमा चढ्छन् भने कपडा पनि सामान्य लगाएर जाने गरेको उनका एक छिमेकी बताउँछन् ।