युनाइटेड क्लबद्वारा कुष्ठरोग प्रभावितलाई खाद्यान्न वितरण

  • 3
  •  
  •  
    3
    Shares

काठमाडौँ । युनाइटेड क्लबद्वारा पोखरा–१५ टुटुङ्गास्थित नेपाल कुष्ठरोग निवारण सङ्घ आरोग्य आश्रममा बसोबास गर्ने १४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । क्लबको नवाैँ वार्षिकोत्सवको अवसरमा आयोजित सो कार्यक्रमअन्तर्गत चामल, दाल, तेल, सावुनलगायत फलफुल गरी कूल रु १० हजार मूल्य बरावरको सामग्री वितरण गरेको हो ।

महोत्सवको माध्यमबाट यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा जोड दिँदै आएको क्लबका सहकोषाध्यक्ष निर्मला लामिछानेले जानकारी दिनुभयो ।

नेपाल कुष्ठ रोग निवारण सङ्घ पोखरा आरोग्य आश्रमका अध्यक्ष नारायण शर्माले क्लब स्थापनाकालदेखि नै सामाजिक सेवामा समर्पित हुन सफल भएको उल्लेख गर्दै निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

क्लबले पोखराको लेखनाथस्थित पचभैयामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा खुला चिडियाखानाको निर्माणसँगै विभिन्न विद्यालयलाई शैक्षिक सामग्री वितरण, सेती नदी संरक्षणजस्ता विभिन्न सामाजिक कार्यक्रममा जुट्दै आएको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताउनुभयो ।रासस