सगरमाथा आरोहण: यसरी बनाइन्छ सर्वोच्च शिखर जाने बाटो

  • 19
  •  
  •  
    19
    Shares

सगरमाथाको मुख्य प्रवेशद्वार नाम्चेस्थित सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने गरेको छ।

त्यसभन्दा माथि आरोहीहरू स्वयंले बनाउँछन्।

आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि गैरसरकारी संस्था एसपीसीसीले बाटो बनाउने दक्ष कामदारहरू खटाउने गरेको छ।

यस पटक कामी शेर्पाको नेतृत्वमा आठजना ‘आइसफल डाक्टर’ भनिने अनुभवी पर्वतारोही र पथप्रदर्शकको टोली हिमालमा बाटो बनाउने काममा खटिएको छ।

सो टोली आवश्यक सामग्री लिएर मार्च २ देखि काममा खटिएको छ।

कसरी सुरु हुन्छ बाटो बनाउने काम?

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरूले सगरमाथा र अन्य हिमाललाई देवता मान्छन्।

त्यसैले हिमालमा जानुअघि पूजापाठ गर्ने चलन छ।

बाटो बनाउने टोलीका सदस्यहरू आफ्नो काममा कुनै बाधाव्यवधान नआओस् भनेर बौद्ध विधिबाट पूजापाठ गर्दै सगरमाथाको आधारशिविर पुग्छन्।

त्यहाँ उनीहरू उपयुक्त ठाउँ खोजेर शिविर बनाउँछन्।

त्यसपछि पुन: क्षमायाचना र शक्ति माग्दै लामापूजा गर्ने गरिन्छ।

भगवान्‌को शिरमा पाइला राख्नु गल्ती भएको भन्दै लामापाठ गरी प्रत्येक आरोहण टोलीले क्षमायाचना गर्ने गरेको आइसफल डाक्टरहरूका संयोजक कामी शेर्पा बताउँछन्।

बाटो कहाँबाट कसरी तयार गर्ने भन्नेबारे टोली संयोजकको सल्लाहबमोजिम टोली काममा खट्छ।

डोरी र भर्‍याङको प्रयोग गरेर बाटो बनाएपछि टोली आधारशिविर फर्किन्छ र तीन महिनासम्म त्यहीँ बस्छ।

आरोहणका लागि अनुमति लिएका टोलीहरूको आरोहण अभियान सकिएपछि मात्र आरोहणका लागि टाँगिएका डोरी, भर्‍याङ लगायतका सामानहरू निकालेर मात्र टोली फर्किन्छ।

बाटो बनाउन यी सामग्रीको प्रयोग हुन्छ

बाटो बनाउँदै

१. डोरी

सामान्यतया बाटो बनाउने भन्नेबितिक्कै कुटो र कोदालोजस्ता औजारको आवश्यकता पर्छ भन्ने लाग्न सक्छ ।

तर हिमालमा बाटो बनाउँदा बिल्कुलै फरक खालका सामग्रीको प्रयोग हुने गरेको अधिकारीहरू बताउँछन्।

आइसफल डाक्टर कामी शेर्पा भन्छन्, “हिमालमा बाटो बनाउँदा चाहिने पहिलो महत्त्वपूर्ण सामग्री भनेको डोरी हो।”

“डोरीको सहायतामा हामी बाटो बनाउछौँ। प्राय हिमालमा प्रयोग गरिने डोरीहरू विदेशबाटै ल्याउने गरिएको छ,” उनले भने।

नेपालमा बनेका डोरीहरू कमसल र गुणस्तरीय नहुने भएकाले विदेशबाटै बलियो, मोटो र नरम खालको डोरी ल्याएर प्रयोग गर्दै आएको संयोजक शेर्पा बताउँछन्।

उनका अनुसार हालसम्म अमेरिका र कोरियाबाट ल्याइएका नौ मिलिमिटर मोटइ भएको डोरी प्रयोग गरिँदै आएको छ भने भर्‍याङ बाँध्न सात मिलिमिटरसम्मको डोरी प्रयोग गरिएको छ।

हालसम्मको तथ्याङ्‍कअनुसार आधार शिविरबाट दोस्रो शिविरसम्म बाटो बनाउँदा ५५ सय मिटर डोरीको प्रयोग भएको छ।

बाटो बनाउँदै

२. भर्‍याङ

बाटो बनाउन आवश्यक अर्को महत्त्वपूर्ण सामग्री भनेको भर्‍याङ हो।

उकालोमा डोरी टाँग्दै र तेर्सो ठाउँमा भर्‍याङ बिछ्याउँदै बाटो बनाउनुपर्ने हुन्छ।

बाटो बनाउन कतिवटा भर्‍याङ प्रयोग हुन्छ भने तथ्याङ्क नभए पनि टोली संयोजक शेर्पाका अनुसार आवश्यकता अनुसार भर्‍याङ बिच्छ्याउने गरेको छ।

समयानुकूल हुनेगरी कहिले धेरै त कहिले थोरै भर्‍याङ प्रयोग हुने शेर्पा बताउँछन्।

सन् २०१८ मा ३२ वटा भर्‍याङ प्रयोग भएकोमा सन् २०१९ मा २० वटा मात्रै प्रयोग गरिएको शेर्पाले बताए।

हिउँका चापड (खर्पस र ब्ल्यू आइस) का कारण भर्‍याङको सङ्ख्या फरक पर्छ।

विशेषगरी पहिलो शिविरभन्दा माथि र दोस्रो शिविरनजिकै रहेको खुम्बु आइसफलमा प्राय: बढी भर्‍याङको प्रयोग हुन्छ।

धेरै जोखिम लिएर भर्‍याङ थाप्नुपर्ने दक्ष कामदारहरू बताउँछन्।

सगरमाथामा एक पाइला

३. आस स्क्रू र कीला

आइसफल डाक्टरहरूका अनुसार अरू महत्त्वपूर्ण सामग्री आइस स्क्रू र हिउँ बाँध्ने कीला हुन्।

आइस स्क्रू हिउँमा गाड्ने एक प्रकारको सानो आकारको कोदालो हो।

यसको सहारामा हिउँमा बाटो खोज्दै डोरी टाँग्निन्छ।

हिउँ बाध्ने कीला डोरी अड्काउन चाहिने शेर्पा बताउँछन्।

शाकाहारी शैलीमा सगरमाथा

. आवश्यक कपडा

हिमालमा प्राय: मौसम अनुकूल हुँदैन। कहिले तीव्र वेगले हावाहुरी चल्छ त कहिले हिमपात हुन्छ।

प्रतिकूल मौसम हुँदाहुँदै पनि बाटो बनाउनुपर्ने हुन्छ।

हिउँमा काम गर्ने दक्ष कामदारहरूले आफ्नो सुरक्षाका लागि हेल्मेट, चस्मा, पन्जा, हावा नछिर्ने खालका कपडा र बूट अनिवार्य लगाउनुपर्ने अनुभवी शेर्पाहरू बताउँछन्।

हिउँका कारण आँखाको ज्योति नै गुम्न सक्ने भएकाले अनिवार्य रूपमा चस्मा प्रयोग गर्नुपर्छ।

बाटो बनाउँदै

उनीहरूका अनुसार काम गर्दैगर्दा माथिबाट हिउँ पग्लिएर झर्ने र कहिलेकाहीँ गम्भीर दुर्घटना हुने भएकाले यस्ता दुर्घटनाबाट जोगिन हेल्मेट लगाउनै पर्ने हुन्छ।

उनीहरू भन्छन्, “हिउँका डल्ला खसेर घाउचोट लाग्छ, तर टाउकोलाई जोगाउन सक्यौँ भने साथीहरूको सहयोगमा उद्धार हुन्छ र उपचार पाइन्छ।”

जोखिम कति छ?

विशेषगरी खुम्बु आइसफलमा बाटो बनाउँदा एकदमै जोखिम हुने गरेको अनुभवी पर्वतारोहीहरू बताउँछन्।

पहिरो खस्ने र हिउँ भासिने जस्ता समस्याहरू त्यहाँ देखिने गरेका छन्।

उच्च सर्तकता अपनाउन नसकेमा खुम्बु आइसफलमा प्राय: दुर्घटना हुन सक्ने उनीहरू बताउँछन्।

हिउँका खाल्डाहरू हुने भएकाले विशेषगरी भर्‍याङ थाप्ने क्रममा निकै अप्ठ्यारो हुने गरेको र कतिपय अवस्थामा एक-डेढसय मिटर तल झरेर बल्लबल्ल बाँच्न सफल भएको दक्ष कामदारहरूको अनुभव छ।

हिमालको मौसम अनुमान गरेभन्दा फरक भइदिँदा जोखिम बढ्छ।

गत वर्ष मात्र खुम्बु आइसफलमा बाटो बनाउने क्रममा एक जनाको ज्यान गएको थियो।

उनीहरूको सुरक्षाका जीवन बीमा, तलब भत्ता, खाना, बोनस लगायतको सुविधा उपलब्ध गराइएको एसपीसीसीका महासचिव लामाकाजी शेर्पाले बताए ।

अहिले आधारशिविरमा के हुँदैछ?

एप्रिलको ४ तारिखदेखि सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेयता आधार शिविरमा आरोहीहरूको चहलपहल सुरु भएको छ।

आरोहणको तयारीका लागि उनीहरू उचाइ पचाउन दोस्रो शिविरसम्म जाने र फर्किने गरिरहेका छन्।

त्यहाँसम्म सामान पुर्‍याउन पनि थालिएको अधिकारीहरू बताउँछन्।

आधारशिविरवरिपरि रङ्गीचङ्गी ध्वजापताकाहरू टाँगेको देखिन्छ। पर्वतारोहीका टोलीहरूले पूजापाठ पनि गरिरहेका छन्।

पर्यटन विभाग पर्वतारोहण महाशाखाका अनुसार गत हप्तासम्म १२ नेपालीसहित तीन सय जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्।

दुवै खुट्टा नभएका लाहुरेको सगरमाथा सपना