नयाँ बसपार्कमा चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच

  •  
  •  
  •  

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा आज चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण गरिएको हो ।

उपत्यकालगायत देशका विभिन्न भागमा चालकको लापरबाहीबाट दुर्घटना बढ्न थालेपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण कार्यक्रम आयोजना गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले लामो दूरीका सवारी साधनका चालकलाई तन्दुरुस्त राख्न तथा दुर्घटना न्यूनीकरणका लागि उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डा अजयसिंह थापाले स्वास्थ्य नै ठूलो धन भएकाले हरेक चालक तथा सहचालकलाई तन्दुरुस्त राख्नका लागि ग्राण्डी अस्पतालले नेपाल प्रहरीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिनुभयो ।

मुलुकभर हुने दुर्घटना न्यूनीकरणका लागि ग्राण्डी अस्पतालले आगामी दिनमा पनि सहकार्य गर्ने डा थापाको भनाइ छ । स्वास्थ्य शिविरमा ३०० भन्दा बढी चालक तथा सहचालकले आँखा तथा शरीरको स्वास्थ्य जाँच गराएका छन् ।

यसैबीच, महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजनामा सोमबार नयाँ बसपार्कमा चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको छ । चालकको लापरबाहीबाट धेरै दुर्घटना हुन थालेपछि सोमबार २०० भन्दा बढी चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक पङ्कज मल्लले जानकारी दिनुभयो । रासस