अमेरिकासँगको व्यापार युद्धमा चीनको नयाँ अस्त्र – क्याराओके

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जारी अमेरिका-चीन व्यापार युद्धबारे बनाइएको एक चिनियाँ प्रोपागाण्डा गीतले चीनको सामाजिक सञ्जालमा निकै चर्चा र चासो बटुलिरहेको छ। व्यापार युद्ध नामक उक्त गीत पूर्व चिनियाँ कर्मचारीले लेखेका हुन्। उक्त गीत लोकप्रिय मोबाइल मेसेन्जर वीच्याटमा शुक्रवार देखा परेको थियो। त्यस यता त्यसलाई लाखौँ पटक हेरिएको छ र त्यसमा आधारित अर्को एउटा म्युजिक भिडिओ पनि बनाइएको छ।

उक्त गीतमा कडा शब्दमा अमेरिकाको आलोचना गरिएको छ र अमेरिकालाई पराजित गरेर होसमा ल्याउने वाचा गरिएको छ।

यस्ता प्रोपागाण्डा गीत चीनमा नौलो होइन। क्याराओके चीनमा लोकप्रिय छन्। जसमा बार वा क्लबमा मानिसहरू रेकर्डमा बजाइएको धूनमा चर्चित गीतहरू माइक्रोफोनमार्फत गाएर मनोरञ्जन गर्छन्।

साथै चिनियाँ सरकारलाई उसका आधिकारिक धारणालाई गीतमार्फत युवामाझ पुर्‍याउनुको प्रभावकारिता पनि थाहा छ।

पछिल्लो समयमा अमेरिकाले करिब २ सय अर्ब डलरका चिनियाँ सामानमा थप आयात शुल्क लगाइदिएपछि चर्किएको दुई देशबीचको तनावका माझ सो गीतले चीनको शक्ति दर्शाउन र अमेरिका विरोधी भावना भड्काउन मद्दत गरेको छ।

गीत

गत साता अवकाशप्राप्त चिनियाँ अधिकारी तथा गीतकार जाओ लियाङसियानले व्यापार युद्ध वा ट्रेड वार नामक गीत वीच्याट को एउटा समूहमा राखिदिए।

त्यसले निकै मानिसको ध्यान खिच्यो र लगत्तै उक्त गीतलाई म्युजिक भिडिओको स्वरूप दिइएको पोस्ट भाइरल अर्थात निकै चर्चित भयो।

सो भिडिओमा आगोको लप्काको पृष्ठभूमिमा एक बलियो मुठीको एनीमेटेड रेखाचित्र देखिन्छ। सो तीन मिनेटको भिडिओमा बेला बेला बेइजीङका मनोरम दृश्य पनि देखाइन्छ।

उक्त गीतलाई विगतमा युद्धको बेला बनाइएको जापानविरोधी प्रोपागाण्डा चलचित्र ‘टनेल वारफेर’ को चर्चित धूनमा ढालिएको छ, र कुनै फौजी गीत जस्तो सुनिन्छ।

“मैले उक्त टनेल वारफेर नै चुनेँ किनभने अहिले चीनले बेहोरिरहेको अवस्थासँग त्यो मिल्दोजुल्दो छ,” जाओले ब्लुमबर्ग न्यूजलाई बताए। “यो व्यापार युद्ध सुरु भएदेखि नै मलाई केही गरूँ जस्तो लागेको थियो।”

उनले उक्त संगीतमा अहिले दुई देशबीचको गिर्दो सम्बन्धबारे गीत रचे।

त्यसमा व्यापार युद्धका चुनौतीबाट नडराएको र यदि प्रतिद्वन्द्वी लड्न चाहन्छ भने उसलाई पराजित गरि होसमा ल्याइने जस्ता कुरा उल्लेख छन्।

‘अमेरिकी साम्राज्यवादी’

वीच्याटमा धेरैले सो भिडिओ हेरेका छन् र त्यसले ट्वीटरको चिनियाँ संस्करण मानिने चिनियाँ सामाजिक सञ्जाल सीना वेबोमा निकै चर्चा बटुलिरहेको छ।

सी र ट्रम्प

“उनका शब्दहरूले मानिसहरूमा बलियो भावना जगाइदिएका छन्,” एक वीच्याट प्रयोगकर्ताले लेखे।

कतिपयले ‘शिक्षक जाओ’ लेखकलाई प्रशंसा गरेको छन् र उनलाई देशभक्त नायक लडाकू भनेका छन्।

अरूले चाहिँ सो गीतलाई अमेरिकालाई जवाफ दिने उचित माध्यम भनेका छन्। “अमेरिकी साम्राज्यवाद र त्यसका ब्वाँसो शैलीका महत्त्वाकांक्षा,” एक प्रयोगकर्ताले लेखे।

तर कतिपय वेबो प्रयोगकर्ताहरूले भने चीनले व्यापार युद्ध बारेको गीत प्रवर्धन गरिरहेको भनी टिप्पणी गरेका छन्। “यस्ता सोचाइले त हामी उत्तर कोरियाभन्दा फरक नभएको देखाउँछ,” एक प्रयोगकर्ताले लेखे।

गीति प्रोपागाण्डाको इतिहास

अन्य देशसँगको झगडाका बेला चीनको शक्ति दर्शाउने खालका गीत राज्यले नै प्रवर्धन गरेको ट्रेड वार पहिलो घटना भने होइन।

गत वर्षको मे महिनामा आधिकारिक सञ्चार माध्यमले ‘फर योर अटेन्सन’ नामक पाँच सदस्यीय पुरुष ब्याण्डले घरेलु उत्पादनको गुनगान गरेको र तिनलाई चीनको गौरव भनिएको गीत प्रवर्धन गर्‍यो।

सो गीतमा चीन उदाउँदो महाशक्ति देश भएको र चिनियाँहरूले विदेशी सामान किन्न जरूरी नभएको भन्ने सोचलाई बढावा दिइएको छ।

सन् २०१७ को मे महिनामा सरकारी मिडियाले भिन्न भिन्न भाषामा सिचुवानको एक समूह सीडी रेभले बनाएको ‘नो टु थाड’ नामक गीतलाई प्रवर्धन गरेको थियो।

त्यसमा अमेरिकासँग मिलेर प्रति क्षेप्यास्त्र प्रणालीमा काम गरेको भन्दै दक्षिण कोरियाको आलोचना गरिएको थियो। पछि उक्त प्रणालीबारेका काम अघि बढेनन्।

चीनमा संगीतका विभिन्न विधा – अझ खासगरि र्‍याप – लाई यसरी प्रयोग गर्न सरकार पछि परेको छैन।

सन् २०१७ को अक्टोबरमा भएको राष्ट्रिय कंग्रेस – जुन चिनियाँ क्यालेण्डरमा सबभन्दा महत्त्वपूर्ण राजनीतिक घटना मानिन्छ – को बेला त्यहाँ चारवटा र्‍याप गीत सार्वजनिक गरिए।

जसमध्येको एउटाको शीर्षक ‘द लेटर’ थियो। त्यसमा राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनमा भएका परिवर्तनका गुनगान गरिएको छ। सो गीतले चिनियाँ युवामाझ सीको विरासतको प्रवर्धन गर्न मद्दत गर्‍यो। बिबिसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *